अरनिको राजमार्गको प्रगति नौ महिनामा बाह्र प्रतिशत मात्र
2023-03-21 16:14:05cri
Share with:

 

अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्ड विस्तारको काम सुरु भएको नौ महिना पूरा भयो। अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड स्तरोन्नति तथा विस्तार गर्नका लागि सडक डिभिजन कार्यालय भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता भएको थियो। 

डिभिजन कार्यालय र निर्माण व्यवसायीबिच २२ महिनामा काम सम्पन्न गर्ने सर्तमा २०७९ जेठ २० मा सम्झौता भएको थियो। सडक स्तरोन्नति तथा विस्तारको ठेक्का पाएको निर्माण व्यवसायी कम्पनीले कुल ठेक्का समयको ४० प्रतिशत समय सकिँदा करिब १२ प्रतिशत काम मात्रै सकेको डिभिजन सडक कार्यालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने बिद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेको हो। डिभिजन सडक कार्यालयका इन्जिनियर नेत्र देवकोटाले अरनिको राजमार्गको धुलिखेल–खावा सडकको ठेक्का पाएको निर्माण व्यवसायीले काममा ढिलाइ गरेको बताउनुभयो। “सडक निर्माण गर्नुपर्ने समयावधिको ४० प्रतिशत समय सकिएको छ तर हालसम्म करिब १२ प्रतिशत मात्रै काम भएको छ, निर्माण कम्पनीले सोचे जस्तो काम गरेन” उहाँले थप्नुभयो। उहाँले निर्माण व्यवसायीले राम्रोसँग काम नगरेपछि कार्यालयले नौ महिनामा सात वटा पत्र काटेर काम ढिलाइ हुनुको कारण सोधे पनि हालसम्म कुनै जवाफ प्राप्त नभएको बताउनुभयो।

कार्यालयले पठाएको पत्रको बेबस्ता गर्दै काममा अटेर गरेपछि डिभिजन सडक कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले पठाएको पत्रको जवाफ नपठाई गैर जिम्मेवारीपन देखाएको हैन ? भन्दै तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्माण व्यवसायी कम्पनीलाई सूचना जारी गरेको छ। कार्यालयबाट पटक, पटक मौखिक एवम् लिखित निर्देशन दिएको तथा गत माघ १० गते र फागुन ७ गते निर्माण कम्पनीका अध्यक्षलगायतको संयुक्त बैठक बसी प्रतिविद्धतासहित विविध निर्णय गरे पनि हालसम्म उक्त प्रतिबद्धता पुरा नगरेको भन्दै स्पष्टीकरण सोधिएको ई. देवकोटाले बताउनुभयो। “सडक स्तरोन्नति तथा विस्तारमा भएको ढिलाइको विषयमा फागुन २७ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आयोजना गरेको सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मत सम्भारको काम यथाशीघ्र सुचारु गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म उक्त काम भएन” ई. देवकोटाले थप्नुभयो। 

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा चार किलोमिटर सडक खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्नका लागि निर्माण कम्पनीसँग गत जेठ २० गते निर्माण सम्झौता भएको थियो। उक्त सडक सम्झौता भएको २२ महिना अर्थात् आगामी २०८० चैत १९ गतेभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। सडक स्तरोन्नतिका लागि निर्माण कम्पनीसँग भ्याटसहित २० करोड १९ लाख रुपियाँमा सम्झौता भएको थियो। सडकलाई बलियो बनाउनका लागि यो पटक डिभिजन कार्यालयले नेपालमा नै पहिलो पटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्नुको साथै सडकलाई बलियो बनाउनका लागि दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने कार्यालयले जनाएको छ।