विदेशिएका नेपाली पनि सामाजिक सुरक्षा कोषमा
2023-03-22 16:45:39cri
Share with:

नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपाली श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोड्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषले बुधबार औपचारिक कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा स्वरोजगार रहेका श्रमिकलाई कोषको योजनामा जोड्न थालेको गोरखापत्र अनलाइनले लेखेको छ। 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)सँगको सहकार्यमा विदेशमा बस्ने सबै नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न लागिएको हो। विदेशमा व्यापार व्यवसाय गर्ने गैरआवासीय नेपाली पनि यो कार्यक्रममा समेटिने कोषको कार्यालयले जनाएको छ। 

पाँच वर्षअघि औपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा ल्याए पनि स्वरोजगार, अनौपचारिक तथा विदेशमा रहेका श्रमिकलाई कोषको दायरामा ल्याइएको थिएन। कोषको कार्यविधि संशोधन गरी यो व्यवस्था गर्न लागिएको श्रम मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष एकनारायण अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार कोषको सफ्टवेयर प्रणालीलाई वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)सँग अन्तरआबद्ध गरिसकिएको छ। उक्त सफ्टवेयरमार्फत बुधबारदेखि वैदेशिक रोजगारीमा जाने र विदेशमा स्वरोजगार रहेका श्रमिकलाई कोषमा आबद्ध गरिने उहाँको भनाइ छ।

सरकारले मङ्सिर अन्तिम साता वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७९ स्वीकृत गरेको थियो। स्वीकृत कार्यविधि ९० दिन पूरा भएपछि कार्यान्वयनमा ल्याउने व्यवस्था अनुरूप चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा जानेलाई कोषमा आबद्ध गर्न लागिएको सचिव अर्यालले जानकारी दिनुभयो। 

कोषका अनुसार अबदेखि विदेश जान नयाँ श्रमस्वीकृति लिनेलाई अनिवार्य र विदेशमा रहेकाले चाहेमा विदेश रहेर पनि फेमिस प्रणालीमा आबद्ध हुन सक्ने व्यवस्था छ। अबदेखि वैदेशिक रोजगारीमा जान नयाँ श्रमस्वीकृति लिने श्रमिकले अनिवार्य रूपमा कोषमा आबद्ध हुनु पर्नेछ। 

यसका लागि श्रमस्वीकृति लिएपछि कोषमा आवद्ध गराएर नम्बर दिएर पठाउने र त्यो नम्बरका आधारमा कोषमा जम्मा गर्ने व्यवस्था छ। गन्तव्य मुलुकले दिने सामाजिक सुरक्षा कार्यक्रममा समावेश भए पनि यो कोषमा आबद्ध हुनुपर्ने छ। 

वैदेशिक रोजगारीमा जाने वा विदेशमा स्वरोजगार रहेको नागरिकले कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम दुुई हजार मासिक रूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने छन्। 

कार्यविधिले नियमित रूपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योगदान दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना जस्ता विभिन्न योजना सञ्चालनमा ल्याएको छ। 

वैदेशिक रोजगारीमा रहेका श्रमिकले अग्रिम रूपमा योगदान गरेमा १० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ। खर्च कटाई आम्दानीको ७० प्रतिशत रकम औपचारिक माध्यमबाट विप्रेषण पठाएको प्रमाण पेस गरेमा २० प्रतिशत छुट रकम फिर्ता हुने प्रावधान रहेको छ।

कोषका अनुसार दुर्घटना, अशक्तता र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत सुविधा नलिएमा २० प्रतिशत रकम छुटको व्यवस्था तथा नेपालमा फर्केपछि अन्यजस्तै औपचारिक, अनौपचारिक र स्वरोजगार योजनामा जान सक्ने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषबाट कर्जा तथा सापटीको व्यवस्था पनि राखिएको छ। 

कोषको योजनामा हालसम्म १७ हजार ७३७ रोजगारदाता र तीन लाख ९९ हजार ५६६ योगदानकर्ता आबद्ध भइसकेका छन्। कोषमा हालसम्म ३० अर्ब ८७ करोड रुपियाँ योगदान रकम सङ्कलन भइसकेको छ। 

सामाजिक सुरक्षा कोषले हालसम्म विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपियाँ दाबी भुक्तानी गरिसकेको छ। 

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ। कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ।

कोषले औषधोपचार सुविधाबापत ४४ करोड ५९ लाख ९६ हजार रुपियाँ, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत पाँच करोड ४५ लाख १७ हजार रुपियाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत छ करोड ४६ लाख ६३ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत तीन अर्ब २१ करोड ६५ लाख ७१ हजार रुपियाँ दाबी भुक्तानी गरेको छ। कोषले ६८ हजार ३६ योगदानकर्तालाई एक लाख छ हजार चार सय ५८ पटक विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ।