तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक
2023-03-22 16:40:53cri
Share with:

 

नेपाल–चीनबीचको तातोपानी नाका र खासा नाकामा महिनैपिच्छे दुई देशका प्रशासन र सुरक्षा अधिकारीबीच बैठक हुँदै आइरहेको छ। केही समय अघिदेखि दुई देशका जिल्लास्तरीय प्रशासनिक प्रमुख र सुरक्षा अधिकारीबीच नाकाका विषयमा छलफल हुँदै आएको हो। 

यस्तैमा चैत ६ गते पनि तिब्बतको खासा अध्यागमन सभाहलमा ‘बोर्डर काउण्टरपार्ट’ बैठक सम्पन्न भएको छ। उक्त बैठकमा सिन्धुपाल्चोक र चीनको खासा क्षेत्रका जिल्ला प्रशासन, अध्यागमन, तातोपानी भन्सार, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, चीनको न्यालम काउण्टी प्रशासन, अध्यागमन, सुरक्षा निकायका प्रमुखहरुबीच बैठक सम्पन्न भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणाले तातोपानी नाकालाई अझै सुरक्षित बनाउने, अापराधिक गतिबिधि रोकथाम, अवैध चोरी निकासीलाई निरुत्साहित पार्नेलगायतका विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो। आगामी दिनमा पनि दुई देशबीच समन्वय र सद्भावलाई निरन्तरता दिने बारे पनि छलफल भएको उहाँले बताउनुभएको छ।

२०७१ सालदेखि तातोपानी नाकाबाट आंशिक रुपमा मात्रै सामान आयात भइरहेको छ भने निकासी शून्य छ। खासा क्षेत्रबाट अहिले दैनिक दुईदेखि तीन वटासम्म मात्रै मालबाहक कन्टेनर तातोपानी नाका भित्रिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ। उक्त नाकालाई व्यवस्थित र पूर्ण रुपमा सञ्चालनका लागि दुई देशका सरकारी अधिकारीहरु छलफलमा जुट्दै आइरहेका छन्।