लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
2023-03-23 15:58:31cri
Share with:

 

भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ। ‘पिस म्याराथन’ विश्व ओलम्पिक दिवस अप्रिल ६ तारिखमा आयोजना गरिने छ। लुम्बिनी प्रदेश खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीसँग सहकार्यमा पिस म्याराथनको प्रस्ताव अगाडि बढाएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

यसको तयारीका लागि ओलम्पिक कमिटीका साथै लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिकालगायतसँग छलफल भएको जनाइएको छ। लुम्बिनी प्रदेश सरकार प्रदेश खेलकुद परिषद्को बुटवलमा सम्पन्न बैठकले लुम्बिनी पिस म्याराथन, मुख्यमन्त्री रनिङ शिल्ड तथा विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडी एंव प्रशिक्षकलाई प्रोत्साहन र सम्मान कार्यक्रमका आवश्यक काम अगाडि बढाउने निर्णय गरेको परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिनुभयो।

परिषद् अध्यक्ष एवं सामाजिक विकासमन्त्री चन्द्रशेख गुप्ताको अध्यक्षतामा बसेको बैठकमा प्रदेशको खेलकुदको अवस्था र आगामी दिनमा आयोजना गरिने प्रतियोगिता तथा खेल गतिविधिका विषयमा गम्भीर छलफल भएको थियो।

बैठकमा सदस्य सचिव भट्टराईले परिषद्ले हालसम्मको प्रगति जानकारी गराउँदै प्रदेशमा गरिने खेलकुदका गतिविधिलाई व्यवस्थित गर्ने र यसअघि भएका निर्णयलाई कार्यान्वयन गर्ने प्रस्तावका रुपमा राख्नु भएको थियो।

बैठकले लुम्बिनीमा पहिलो पटक खुल्ला लुम्बिनी पिस म्याराथन आयोजना गर्ने प्रस्तावलाई अनुमोदन गर्दै आयोजना प्रक्रियाका लागि आवश्यक तयारी गर्न सदस्य सचिवलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

मन्त्री गुप्ताले खेलकुदको विकासका लागि दलगत आग्रह पूर्वाग्रह त्याग्दै खेल संस्थालाई काम गर्न आग्रह गर्नुभयो। उहाँले युवालाई खेलप्रति आकर्षण बढाउने र उनीहरुलाई प्रोत्साहान गर्ने दायित्व राज्यका अङ्गहरुको भएको हुँदा एकै पटक ठूलो योजना बनाउनुभन्दा सानोबाट काम सुरु गर्न निर्देशन दिनुभयो।