काठमाडौं–केरुङ रेलमार्ग : चिनियाँ प्राविधिक टोलीले थाल्यो फिल्ड सर्भे
2023-03-24 17:01:45cri
Share with:

चिनियाँ प्राविधिक टोलीले काठमाडौं–केरुङ रेलमार्गको फिल्ड सर्भे सुरु गरेको छ । चिनियाँ नयाँ वर्ष मनाएर गत फागुन २४ मा फर्किएको प्राविधिक टोली सर्भेका लागि रसुवा पुगेको हो । टोलीमा ४० जना प्राविधिक छन् ।

 

कान्तिपुर अनलाइनका अनुसार चिनियाँ टोली काठमाडौं, नुवाकोट हुँदै रसुवा पुगेको हो। यी तीनवटै जिल्लामा फिल्ड सर्भे हुने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारले बताउनुभयो। ‘अहिलेसम्म विभिन्न समयमा गरेर ४० जनाको प्राविधिक टोली अध्ययनका लागि नेपाल आएर फिल्डमा गइसकेको छ,’ उहाँले भन्नुभयो, ‘दुई देशबीच भएको सहमतिअनुसार अध्ययन अघि बढ्नेछ ।’पुस तेस्रो साता पनि चिनियाँ प्राविधिक टोली रसुवागढी पुगेको थियो । त्यतिबेला स्याफ्रुबेंसी, धुन्चे र रसुवागढीलगायत ठाउँको सर्भे गरेर टोली काठमाडौं फर्किएको थियो ।

सुरुमा चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको ६ जना प्राविधिक टोली सर्भेका लागि आएको थियो । अहिले पनि त्यही कम्पनीको प्राविधिक टोली थपिएर अध्ययनका लागि आएका हुन् । ‘यसअघि आएर टोलीले सामान्य फिल्ड हेरेर चिनियाँ नयाँ वर्ष मनाउन गएको थियो,’ चित्रकारले भन्नुभयो, ‘अब भने नियमित अध्ययन हुनेछ ।’

उहाँका अनुसार रेल मार्ग जहाँजहाँ बनाइने भनिएको छ, त्यहाँको भौगोलिक बनावटदेखि निर्माणमा लाग्ने कुल लागत अध्ययनबाट थाहा हुनेछ । रेल विभागका प्राविधिक कर्मचारी आवश्यक सहजीकरणका लागि चिनियाँ प्राविधिक टोलीसँगै फिल्डमा गएको उहाँको भनाइ छ । ‘एरिएल सर्भेबाट फिल्डको अध्ययन गरिनेछ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि हेलिकोप्टर, ड्रोनलगायत उपकरणहरू प्रयोग हुनेछन् ।’

चिनियाँ प्राविधिक टोली कसरी अध्ययन गर्ने भन्नेबारे दुई दिनसम्म छलफल गरेर फागुन २९ मा फिल्ड गएको रेल विभागका महानिर्देशक रोहित बिसुराल बताउनुहुन्छ। ‘लामो समयपछिको प्रतीक्षापछि फिल्ड सर्भे सुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘केही समस्या नआए तोकिएको समयमै अध्ययन सकिनेछ ।’

अध्ययनका लागि आवश्यक पर्ने उपकरण उपलब्ध भएसम्म नेपालकै प्रयोग गर्ने र नभएको खण्डमा मात्र चीनबाट ल्याउने उहाँको भनाइ छ । प्रारम्भिक अध्ययनअनुसार सम्भाव्यता अध्ययन गर्न ४२ महिना लाग्नेछ । सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिनेछ ।

 

२०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई देशबीच औपचारिक सहमति भएको थियो । २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति जुटेको थियो । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किलोमिटर दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्नेछ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चमा गर्नेछ । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

 

यता काठमाडौं–केरुङसँगै चर्चामा रहेको काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन गत असोजमा सकिए पनि अन्तिम प्रतिवेदन तयार भइसकेको छैन । अध्ययनअनुसार उक्त रेलमार्ग निर्माण गर्न ३ खर्ब २० अर्ब रुपैयाँ लाग्नेछ । विस्तृत अध्ययनमार्फत सबै संरचना निर्माणमा लाग्ने खर्चसहितको यो लागत अनुमान निकालिएको हो ।

 

२०७८ असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको थियो । विभागका महानिर्देशक बिसुरालका अनुसार आगामी वैशाख दोस्रो साताभित्र तयार भइसक्नेछ । भारतको कोंकण रेलवे कर्पोरेसनको प्राविधिक टोलीले यसको अध्ययन गरेको हो । अन्तिम अध्ययनअनुसार रेलमार्गको दूरी १४० किलोमिटर हुनेछ । कोंकणले नेपाल सरकारसँगको समन्वयमा ८ महिना लगाएर अध्ययन प्रतिवेदन तयार पारेको थियो ।