नेपालमा जम्मा घरको संख्या ७५ लाख ५२ हजार ६६
2023-03-24 17:05:10cri
Share with:

राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय जनगणना–२०७८ मा मुख्य प्रयोग अनुसार देशभरका सम्पूर्ण घरहरुको विवरण संकलनसमेत गरिएको छ। घरको धेरैजसो भाग के कामका लागि प्रयोग भएको थियो सोको आधारमा मुख्य प्रयोगलाई विभिन्न १२ प्रकारमा वगीकरण गरिएको छ ।

 

जनगणनाको नतिजाअनुसार देशभर जम्मा ७५,५२,०६६ वटा घर संरचना रहेको छ, जसमध्ये मुख्य रूपमा आवासका लागि प्रयोग भएका घर ७१.७ प्रतिशत, गोठ/धन्सार/मतान १०.१ प्रतिशत, खाली घर ६.३ प्रतिशत, अन्य (जस्तैः भान्सा घर) ५.९ प्रतिशत, व्यापार ३.१ प्रतिशत, शैक्षिक १.१ प्रतिशत, उद्योग/कलकारखाना र संस्थागत तथा सरकारी ०.४/०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य ०.२ प्रतिशत र बैंक तथा वित्तीय संस्था ०.१ प्रतिशत रहेका छन् ।

 

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ७५.० प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ६८.० प्रतिशत घरहरू मुख्य रुपमा आवासको लागि प्रयोग भएका छन् ।

 

त्यस्तै परिवारले आवासीय रुपमा प्रयोग गरिरहेको घरको स्वामित्वमा कुल ६६,६०,८४१ परिवारमध्ये ८६.० प्रतिशत परिवारहरु आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरु भाडामा लिइएको आवासीय एकाइमा बसिरहेका जनगणनामा उल्लेख छ । गत २०६८ सालको जनगणनामा यो मान क्रमशः ८५.३ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो । हालको गणनाअनुसार ०.६ प्रतिशत परिवारहरु संस्थागत एकाइमा र ०.७ प्रतिशत परिवार अन्य प्रकारको स्वामित्वको एकाइमा बसोबास गरेका छन्।