मर्स्याङ्दी करिडोर अन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
2023-03-25 16:34:31cri
Share with:

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुई वटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

 

भरतपुर सबस्टेसनको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको र अबको एक महिनाभित्र चार्ज गरी सञ्चालनमा आउने आयोजना प्रमुख नारायण रेग्मीले जानकारी दिनुभयो। यस्तै लमजुङ उदीपुर सबस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको र अबको चार महिनामा सञ्चालनमा आउने रेग्मीको भनाइ छ। मनाङको धारापानी सबस्टेसन भने भौगोलिक जटिलताका कारण निर्माणमा समस्या भएको रेग्मीले जानकारी दिनुभयो। भरतपुर र उदीपुरमा भने कुनै पनि समस्या नरहेको जनाउँदै उहाँले ४ महिनामा दुवै सबस्टेसन चार्ज हुने बताउनुभयो।

 

निर्माणाधीन सबस्टेसनको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गर्नुभयो। उहाँले अनुगमनमा क्रममा निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गर्नुभयो।

 

भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्नेगरी अन्तिम चरणका कामहरु भइरहेको प्राधिकरणले जनाएको छ । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माणाधीन छन्। खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा भने समय बढ्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार भौगोलिक रुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरणहरु लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने छ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।

 

नयाँ भरतपुर सबस्टेसनमा सञ्चालन पूर्व गर्नुपर्ने परीक्षणका कामहरु भइरहेका छन् । उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरणहरु निर्माण स्थलमा ढुवानी भइसकेका छन् । उपकरणको जडान जारी छ । मर्स्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।

 

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।