चीनले यात्रा खुल्ला गरेपछि आशावादी नेपाली पर्यटन व्यवसायी
2023-03-25 16:31:09cri
Share with:

नेपाली पर्यटन बजारको ध्यान यति बेला चीनतर्फ मोडिएको छ । चीनले हालै मार्च १५ पछि आफ्ना नागरिकलाई नेपाललगायत मुलुकमा यात्रा गर्न सकिने प्रावधान ल्याएपछि नेपालका होटल, पदयात्रा र ट्राभल उद्योगमा आबद्ध व्यवसायी कोभिडअघिको जस्तो आर्थिक अवस्थामा पुग्न पाइएला कि भनेर आशावादी देखिएका छन् ।

 

‘चीनबाट राम्रो संकेत देखिएको छ,’ पदयात्रा व्यवसायीहरूको छाता संगठन टानका अध्यक्ष नीलहरि बाँस्तोलाले भन्नुभयो, ‘अब नेपालको पर्यटन राम्रो होला कि ? आशा पलाएको छ ।’ बाँस्तोलाले कोभिडयता पदयात्रामा आबद्ध २ सय हाराहारी व्यवसायी यस पेसाबाट पलायन भएको देखिसकेका छन् । ‘कम्पनीहरू बन्द भए, नयाँ पनि आउँदै छन्,’ उहाँले भन्नुभयो, ‘यो वसन्तयाममा हिमाल आरोहणमा पर्यटक बढ्ने देखिन्छ । त्यसपछि बिस्तारै पदयात्रामा आउने पर्यटक बढ्लान् । हामी आशावादी छौं ।’

 

तर हालै पर्यटन बोर्डसहितका केही संस्थाले स्थानीय सरकारको अधिकारसँग बाझिने गरी एउटा नियम ल्याए । जसले गर्दा नेपाललाई मन पराउने केही पुराना पर्यटक उक्त निर्णयले बिच्किए । ‘अलि हतार गरेर पर्यटकसँग अनिवार्य गाइड हुनुपर्ने निर्णय गर्‍यौं,’ पर्यटन बोर्डका एक अधिकारीले भने, ‘यस निर्णयले ठूला व्यवसायी खुसी भए । तर ससाना पर्यटन व्यवसायी दुःखी भए। नेपालबाहिरबाट यसको चर्को आलोचना भयो ।’

 

नयाँ निर्णयले मुक्तिनाथ, मानसरोवरलगायत तीर्थस्थल भ्रमण गर्ने भारतीय तीर्थयात्रीलाई असर पार्छ । भारत अहिले पनि पहिलो स्थानमा पर्ने मुलुक हो, हरेक वर्ष नेपाल आउने पर्यटकमा भारतकै नागरिक पहिलो नम्बरमा हुन्छन् । अध्यागमन विभागले फेब्रुअरीमा सार्वजनिक गरेको ७३ हजार पर्यटक आगमनको तथ्यांकमा भारतीय २५ प्रतिशत छन् । सन् २०२२ मा नेपालमा ६ लाख पर्यटक आएका कान्तिपुर अनलाइनमा खबर छ।

पर्यटकलाई नेपालभित्र र बाहिर हवाई टिकट दिने तथा टुर प्याकेज बनाई बिक्री गर्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) पनि अहिले केही आशावादी देखिएको छ । ‘केही विदेशी वायुसेवाको सिन्डिकेट थियो । आफ्ना नजिकका ट्राभल एजेन्सीलाई मात्रै टिकट बिक्री गर्न दिइन्थ्यो । जसका कारण एकतर्फी टिकट नै लाखौं तिरेर कामदार र विद्यार्थी बिदेसिनुपरेको थियो,’ नाट्टा अध्यक्ष रमेश थापाले भन्नुभयो, ‘तर चीनतर्फका तीनवटा वायुसेवाले केही महिनाअघिबाट नियमित उडान खुला गर्दै ३०/४० प्रतिशत भाडादर घटाउनेबित्तिकै हाम्रो ट्राभल व्यापारमा आशा छाएको छ ।’

 

काठमाडौंसहित देशभर १ हजार ट्राभल व्यवसायी रहेका अध्यक्ष थापा बताउँछन् । सबै वायुसेवा खुल्दै जाँदा टिकट व्यापार २०१९ अघिको लयमा जानेछ । पर्यटन क्षेत्रमा सर्वाधिक लगानी भएको र सर्वाधिक आम्दानी गर्ने पहिलो नम्बरको होटल, रिसोर्ट उद्योग भने निराश छ ।

तारे होटलसहित पर्यटकस्तरका २५ सय हाराहारी सदस्य रहेको होटल संघ नेपाल (हान) ले केही दिनअघि होटल उद्योग २०२५ सम्म आर्थिक मन्दीको मार बेहोर्ने प्रक्षेपण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्‍यो ।पर्यटक आगमन सुस्त हुँदा होटल उद्योग सञ्चालन खर्चसमेत धान्नै नसक्ने गरी थला परेको हानले जनाएको छ ।

देशभरिका प्रदेश तदर्थ समितिका अध्यक्ष तथा क्षेत्रीय संघका अध्यक्षसँगको छलफलमा बैंक तथा वित्तीय संस्थाबाट होटल व्यवसाय प्रवर्द्धन र विकासका लागि प्रवाह भएको ऋणको साँवाब्याज भुक्तानीमा थेग्नै नसकिने गरी भइरहेको निरन्तरको चरम प्रतिकूल ताकेताप्रति केन्द्रीय होटल संघ नेपालको ध्यानाकर्षण भएको संघ अध्यक्ष सिर्जना राणाको भनाइ छ ।

नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बद्ध बैंक एवं वित्तीय संस्थाबाट नेपाली होटल क्षेत्रलाई कठिन आर्थिक चक्रव्यूहबाट बचाई पुनर्जीवन प्रदान गर्न ऋणको साँवाब्याज भुक्तानीको भाका व्यावहारिक ढंगमा बढाउनेलगायत कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण नितान्त आवश्यक रहेको र ब्याजदर एकल अंकमा कायम राखिनुपर्ने उहाँले बताउनुभयो ।