महिला सशक्तीकरण गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ
2023-03-26 16:02:19cri
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक, आर्थिक, प्रशासनिक क्षेत्रमा महिला सहभागितासँगै नेतृत्व बढ्दै गएको बताउनुभएको छ। नेपाल उद्योग परिसङ्घले शनिबार आयोजना गरेको ‘महिला नेतृत्व सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले महिला सशक्तीकरण र महिलाको निर्णय क्षमता बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

 

संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले निर्णायक तहमा महिला पुग्दा त्यसको प्रभाव क्रमिक रूपमा सकारात्मक देखिएको बताउनुभयो । पछिल्लो समय हरेक क्षेत्रमा सहभागिता बढ्दै गएकाले महिलाले अवसर पाएपछि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्ने प्रमाणित भइसकेको उहाँले बताउनुभयो ।

 

उद्योग व्यवसाय, राजनीति, प्राविधिक क्षेत्रमा महिलाको सहभागिता बढ्नु प्रशंसनीय रहेको धारणा व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले निर्णय गर्ने भूमिकासँगै अन्य क्षेत्रमा थप सक्रिय सहभागिता बढाउन जरुरी रहेको बताउनुभयो।

 

पछिल्लो समय स्थानीय तहदेखि केन्द्रसम्मै उद्योग तथा व्यावसायिक क्षेत्रमा महिला नेतृत्व बढ्दै गएको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी दिनमा अन्य क्षेत्रमा समेत महिलाको सक्रिय सहभागिता बढाउँदै जानुपर्छ। हरेक क्षेत्रमा महिलाको नेतृत्व विकास बढ्दै गएको छ, यसलाई अझ वृद्धि गर्दै अगाडि जान आवश्यक छ ।” उहाँले हरेक क्षेत्रमा महिलाको सहभागिता वृद्धिसँगै नेतृत्व विकास र महिला सशक्तीकरणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

 

सो अवसरमा व्यवसायी एवं प्रतिनिधि सभाका सांसद विनोद चौधरीले २१औँ शताब्दीका महिला नेतृत्वलाई चुनौती र अवसर बराबर रहेको बताउनुभयो। व्यावसायिक क्षेत्रदेखि राजनीतिक क्षेत्रमा महिलाको योगदान क्रमिक रूपमा बढ्दै गएकाले आगामी दिनमा थप बढाउन राज्यले उच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

 

राष्ट्रपति, सभामुखदेखि प्रधानन्यायाधीशको मुख्य नेतृत्व महिलाले सम्हालिसकेकाले व्यावसायिक क्षेत्रमा पनि महिलाको सहभागिता क्रमिक रूपमा बढ्न आवश्यक रहेको धारणा उहाँले व्यक्त गर्नुभयो।

 

महिला आफ्नो क्षमता प्रदर्शन गर्न पनि सक्षम भएको चर्चा गर्दै सांसद चौधरीले राजनीति, प्रशासनिक र व्यावसायिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएपछि समग्र दशकै विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । सरकारले सरकारी नियुक्तिमा महिलालाई प्राथमिकता दिनुपर्ने उहाँको धारणा छ। नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले पछिल्लो समय राजनीतिसँगै व्यावसायिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताउनुभयो। पहिला उद्यमशीलताको विकास हुँदै सशक्तीकरण भई रोजगारीका अवसर सिर्जना गर्ने ठाउँमा महिला पुगेकाले यसलाई राज्यले उच्च सम्मान गर्नुपर्ने उहाँको भनाइ छ। व्यापार व्यवसायमा १० हजारभन्दा बढी महिला संलग्न रहेको जानकारी दिँदै उहाँले आगामी दिनमा यसलाई थप बढाउँदै जान आवश्यक रहेको बताउनुभयो ।

 

सो अवसरमा नेपाल उद्योग परिसङ्घअन्तर्गत महिला नेतृत्व मञ्चकी सभापति छाया शर्माले महिला व्यावसायिक क्षेत्रमा आत्मनिर्भर भई रोजगारीसमेत सिर्जना गर्दै गएकाले महिलाले पाउने छुट सहुलियत सुविधा सहजै उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनुभयो। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालीसँगै सार्क मुलुकबाट महिलाको सहभागिता रहेको छ। गोरखापत्र अनलाइनका अनुसार सम्मेलनमा उद्यमी महिलाले आफूले उत्पादन गरेका सामान प्रदर्शनीमा राखेका छन्।