सरकारी स्कुलको शैक्षिक क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा सहयोग
2023-03-27 15:55:25cri
Share with:

सरकारी स्कुलको शैक्षिक क्षेत्र सुधारका लागि विश्व बैंकले १५ अर्ब ६० करोड रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहयोग गरेको छ । बैंकको कार्यकारी निर्देशक समितिको बैठकले यो सहयोग रकम स्वीकृत गरेको हो । गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई उपयुक्त मार्गदर्शन गर्दै विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रममार्फत रकम परिचालन हुने कान्तिपुर अनलाइनमा खबर छ।

 विश्व बैंकका अनुसार प्राथमिक र माध्यमिक स्तरमा अंग्रेजी, गणित र विज्ञान विषयका लागि आवश्यक शैक्षिक सामग्री जुटाउन सहयोग रकम खर्च हुनेछ । ‘मानव पुँजीको विकासको लागि गुणस्तरीय शिक्षामा लगानी महत्त्वपूर्ण छ’ विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने निर्देशक फारिस हदाद जेर्भोसले भन्नुभयो।

 नयाँ संघीय राज्यको महत्वाकांक्षा पूरा गर्न र शिक्षामा समतामूलक पहुँच स्थापनाका लागि राष्ट्रिय एकीकृत कार्यक्रम कार्यान्वयन गरी आधारभूत सीप सुधार हुने उहाँको भनाइ छ। कोभिड–१९ तथा अन्य विपद्का कारण विद्यालय बन्द हुँदा सिकाइमा परेको क्षतिलाई सम्बोधन गर्न डिजिटल शिक्षण सिकाइ र शैक्षिक सामग्रीमा सहयोग रकम खर्च हुने बताइएको छ । छात्रा, अपाङ्गता भएका विद्यार्थी तथा विपन्न विद्यार्थीलाई प्राथमिकता दिएर सहयोग रकम परिचालन गर्नुपर्नेछ।