नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठनको आयोजनामा यही चैत ३० गते हुने उक्त महोत्सव भैरहवाको देवकोटा चोकमा हुनेछ। एक दिने कार्यक्रममा भारतीय पर्यटकहरूलाई पनि निमन्त्रण गरी कोभिड–१९ पछि नेपाल एवं सीमा क्षेत्र भैरहवाको व्यवसाय प्रवर्द्धन गर्न उत्प्रेरित गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।
साथै यस क्षेत्रका स्थानीय नयाँ वर्ष मनाउन अन्यत्र जाने प्रचलनलाई रोकी अन्य क्षेत्रबाट भैरहवाआई नववर्ष धूमधामका साथ मनाउन कार्यक्रमले सहयोग गर्ने सङ्गठनका अध्यक्ष पीताम्बर न्यौपानेले बताउनुभयो ।
एक सय स्टल रहने यस महोत्सवमा तारेहोटल जन्य आठ, रेस्टुरेन्ट जन्य ४० तथा थारु, नेवारी, मगर परिकारका विभिन्न स्टलहरू रहनेछन् । कार्यक्रममा स्थानीय कला सांस्कृतिक, स्थानीय विद्यालय नृत्य, स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरूबाट प्रस्तुति तथा डिजे रहने सङ्गठनका महासचिव राजेश महोत्राले बताउनुभयो।
महोत्सवमा भैरहवा आसपासका गाउँपालिकाहरूमा बसोबास गर्ने स्थानीयका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शकहरूको सहभागिता रहने छ ।
यस कार्यक्रमबाट कोभिड–१९ ले थला परेको भैरहवाको पर्यटन व्यवसायलाई चलायमान बनाउने र विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक तरलतालाई थोरै भएपनि राहत दिने आयोजकको विश्वास छ ।


