प्राचीन कपिलवस्तुमा ‘तिलौराकोट–कपिलवस्तु सम्पदा उत्सव’
2023-03-28 15:32:53cri
Share with:

प्राचीन कपिलवस्तुमा ‘तिलौराकोट–कपिलवस्तु सम्पदा उत्सव’ मनाइएको छ। प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले सो उत्सव गरिएको हो। लुम्बिनी विकास कोष, पुरातात्व विभाग, यूनेस्को लगायतका संस्थाहरुको संयुक्त आयोजनामा तिलौराकोटमा सम्पदा उत्सव गरिएको हो। उक्त अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य अमृता अग्रहरीले प्राचीन कपिलवस्तुको विकासमा अब ढिलाई गर्न नहुने बताउनुभयो। उहाँले तिलौराकोटलाइ अब विश्व संपदामा सुचीकृत गर्न ठोस काम र पहल गर्नु पर्ने बताउनुभएको नागरिकन्युज डटकमले जनाएको छ। 

 यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई जतिसक्दो चाँडो विश्व सम्पदा सूचीमा सूचीकरण गर्न पुरातात्व विभाग र लुम्बिनी विकास कोषलाई आग्रह गर्नुभयो। अर्का प्रदेशसभा सदस्य अर्जुन केसीले कपिलवस्तुमा निकै सुस्त गतीमा उत्खनन हुँदा पुरातात्विक सम्पदाहरु विनाश हुने खतरामा रहेको बताउनुभयो।

 कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेकुमार त्रिपाठीले  पुरातात्विक हिसाबले अन्वेषण गर्नुपर्ने भएकाले विकासमा ढिलाई भएको बताउनुभयो।

 उत्सवमा थारु कला संस्कृतिहरुको प्रदर्शन तथा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम अघि विभिन्न देशबाट आएका विज्ञ समूहरुलाई प्रो. डा रविन कनिङघमले तिलौराकोट दरबार क्षेत्र, उत्खननबाट प्राप्त प्रमाणहरुको बारेमा जानकारी गराएका थिए। कपिलवस्तुमा प्रत्येक वर्ष तिलौराकोट–कपिलवस्तु सम्पदा हुँदै आएको कोषका कपिलवस्तु शाखा प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिनुभयो। उत्सवमा संग्रहालयमा तिलौराकोट रामग्राम लगायतमा भएको उत्खननकाक्रमा भेटिएको पुरातात्विक बस्तुहरुको प्रर्दशन समेत गरिएको थियो।