नेपालमा बसोबास गर्ने विदेशी नागरिक १ लाख ३७ हजार ४०७, सबैभन्दा धेरै भारतीय
2023-03-28 15:31:33cri
Share with:

नेपालमा अक्सर बसोबास गर्ने व्यक्तिमध्ये १ लाख ३७ हजार ४०७ जना विदेशी नागरिक रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने कुल नागरिकमध्ये ९९.५३ प्रतिशतले आफूलाई नेपाली नागरिकका रुपमा चिनाएका छन्। बाँकीले भने आफूलाई विदेशी नागरिकका रुपमा चिनाएका छन् । तथ्यांक अनुसार यसरी विदेशी नागरिकका रुपमा आफूलाई चिनाउनेमा भारतीय नागरिकको संख्या सबैभन्दा धेरै रहेको छ ।

 नेपालमा अक्सर बसोबास गर्ने भारतीयको संख्या १ लाख ३२ हजार ७८१ जना रहेको छ। चिनियाँ नागरिकको संख्या १ हजार ८८२ जना रहेको छ । भारतबाहेक सार्क मुलुकका नागरिक ५८० जना अक्सर नेपालमा बस्ने गरी विवरण टिपाएका छन्। भारत, सार्क र चिनियाँबाहेक अन्य मुलुकका नागरिकको संख्या १ हजार ९७५ जना रहेको समेत तथ्यांकमा उल्लेख छ। आफूलाई कुनै पनि मुलुकको भनी नचिनाएका व्यक्तिको संख्या १८९ जना रहेको अनलाइनखबरले लेखेको छ।

 कार्यालयका अनुसार जुन व्यक्तिले आफूलाई जुन देशको नागरिक भनी टिपायो, यो विवरण सोही अनुसार आएको हो । कार्यालयले अक्सर बसोबास गर्ने अवधि कम्तीमा ६ महिनालाई मानेर विवरण संकलन गरेको थियो। तथ्यांक अनुसार नगरपालिका क्षेत्रमा १ लाख ९ हजार ९०४ जना भारतीय बसोबास गर्छन्। गाउँपालिकामा भने २२ हजार ८७७ जना रहेका छन्। नगरपालिकका क्षेत्रमा चिनियाँ नागरिकको संख्या १३ सय ३६ जना रहेको छ । गाउँपालिकामा ५४६ जना छन् । भारतबाहेक सार्क मुलुकका अन्य देशका नागरिक नगरपालिकामा ५५० र गाउँपालिकामा ३० जना बसोबास गरेको तथ्यांक छ । तेस्रो मुलुकका नागरिक भने नगरपालिका क्षेत्रमा १८ सय १६ र गाउँपालिकामा १५९ जना बसोबास गर्ने गरेको पाइएको छ। भौगौलिक क्षेत्र अनुसार हिमालमा २१ सय १९ जना भारतीय बसोबास गर्छन्।