अन्तर्राष्ट्रिय बेतबाँस संगठनको अध्यक्ष मुलुकमा नेपाल निर्वाचित
2023-03-30 15:51:21cri
Share with:

अन्तर्राष्ट्रिय बाँस तथा बेत संगठन (इनबार) को २ वर्षे कार्यकालका लागि अध्यक्ष मुलुकमा नेपाल निर्वाचित भएको छ। बेइजिङस्थित इनबारको मुख्यालयमा बुधबार सम्पन्न १२औँ इनबार परिषद्को १३औँ अधिवेशनले सन् २०२३ देखि २०२५ सम्मको कार्यकालका लागि नेपाललाई सर्वसम्मतिले छनोट गरेको कान्तिपुर अनलाइनले जनाएको छ।

यसअघि उपाध्यक्ष रहेको नेपालले अध्यक्षमा दाबी गर्दा कसैबाट पनि विरोध नपरेपछि स्वतः निर्वाचित भएको हो। यस अधिवेशनबाट चाड र प्रजातान्त्रिक गणतन्त्र कङ्गो इनबारको नयाँ सदस्य बनेका छन् भने पानामा उपाध्यक्ष निर्वाचित भएको छ । नेपालको प्रतिनिधित्व गर्दै अधिवेशनमा सहभागी भएका वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन अनुसन्धान तथा तालिम केन्द्रका महानिर्देशक यमप्रसाद पोखरेलका अनुसार ५० राष्ट्रले समर्थन गरेपछि नेपालले यो जिम्मेवारी पाएको हो ।

आफ्नो कार्यकालमा नेपालले बेतबाँसको क्षेत्रमा सम्बन्धित राष्ट्रहरूसँग मिलेर काम गर्नसक्ने र मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्ने उहाँले बताउनुभयो। ‘अब यसपछि नेपालमा प्राविधिक अनुसन्धानका लागि सहकार्य गर्ने संभाव्यताहरू बढे’, महानिर्देशक पोखरेलले भन्नुभयो, ‘बेतबाँसको क्षेत्रमा नेपालको प्रगति अरू देशलाई हेरिकन कमै हो, तर इनबारको सदस्य भएको नाताले केही उपलब्धी हासिल गर्नसक्ने ठाउँ छ ।’

अन्तर्राष्ट्रिय सहयोग, ज्ञान आदानप्रदान, दक्षिण-दक्षिण र त्रिपक्षीय सहयोगलाई अगाडि बढाउन इनबारको योगदानको उच्च रहेको भन्दै नेपालले बाँसको प्रयोगलाई प्रवर्द्धन गर्न र प्लास्टिकलाई बाँसद्वारा प्रतिस्थापन गर्न सबै सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्ने इच्छा राखेको पनि पोखरेलले सुनाउनुभयो । इनबारको अध्यक्ष मुलुकको कार्यकाल २ वर्षको हुने भएपनि कोभिड महामारीका कारण क्यामरुनले तीन वर्षसम्म कार्यकाल सम्हालेको थियो। नेपाललाई इनबारको अध्यक्ष बनाइएपछि महानिर्देशक पोखरेलले निवर्तनमान अध्यक्ष राष्ट्रले देखाएको कार्यकुशलताको प्रशंसा गर्नुभयो। नेपालको नेतृत्व अवधिमा पनि सदस्य राष्ट्रहरूबाट यस्तै सहयोगको अपेक्षा गर्नुभयो। नेपालमा इनबारको सहयोगमा विपत्ति प्रतिरोधी आवास, बाँस तथा बेतको बजार विकास लगायतका परियोजनाहरू संचालित छन्।