सगरमाथा आरोहणको बाटो तयार हुन अझै एक महिना लाग्ने
2023-03-31 16:15:10cri
Share with:

वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो (रुट) तयार हुन अझै एक महिना लाग्ने भएको छ । पर्यटन विभागका अनुसार फागुन अन्तिम सातादेखि सुरु भएको सगरमाथा आरोहणको बाटो पहिल्याउने काम वैशाख १५ गते (मे फस्र्ट) सम्ममा पूरा हुनेछ । अहिले अनुभवी आइसफल डाक्टर (हिउँमा बाटो बनाउने व्यक्ति)को १० सदस्यीय टोलीले बाटो खुला गर्ने प्रयास गरिरहेका छन् ।

 बुधबार क्याम्प–१ माथि गएको हिमपहिरोमा परी दुई जना आइसफल डाक्टर घाइते भएपछि क्याम्प–२ सम्मको बाटो बन्न मात्रै अझै पाँच दिनजति लाग्ने विमागले जनाएको छ। विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार क्याम्प–२ सम्म बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले गरिररहेको छ भने त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घले जिम्मा लिएको छ। उहाँले भन्नुभयो, “आरोहणका लागि खोलिने बाटोमा खाल्टाखुल्टी पर्ने र हिउँ थुप्रिएर अवरुद्ध हुने भएकाले हरेक वर्ष नयाँ बाटो तयार गर्नुपर्ने हुन्छ। चुचुरोसम्मै बाटो बनाउन अझै एक महिना लाग्न सक्छ।”

वसन्त ऋतुको सगरमाथा आरोहणका लागि हालसम्म चार समूहका ३१ जनाले आरोहण अनुमति लिइसकेका छन् । अनुमति लिनेमा सात जना महिला छन्।

 हालसम्म १० वटा हिमालका लागि अनुमति जारी भएको जानकारी दिँदै कोइरालाले अन्नपूर्ण र सगरमाथाबाहेक मनासलुका लागि १५, हिमलुङ हिमालका लागि १२, पाङ्ग्री गोल्डुम्बाका लागि छ, वरुणत्से र थोरोङ पिकका लागि पाँच/पाँच जनाले आरोहण अनुमति लिएको बताउनुभयो ।

नुप्त्सेका लागि तीन, सुर्मासरोवरका लागि दुई जनाले अनुमति लिएका छन्। सगरमाथामा आरोहणका लागि दिएको अनुमतिमध्ये नेपालबाट एक समूहका १० जनाले अनुमति लिएका हुन्।

अमेरिकाका आठ, चीनका पाँच, अस्ट्रेलियाका दुई/दुई र जर्मनी, हङ्गेरी, सिङ्गापुर र दक्षिण अफ्रिकाका एक/एक जनाले आरोहण अनुमति लिएका गोरखापत्र अनलाइनले जनाएको छ।    

यो सिजनमा सबै हिमालतर्फ अहिलेसम्म ३३ मुलुकका आरोहीले अनुमति पाएका छन्। जसमा सबभन्दा धेरै नेपाली (३४ जना) छन् । दोस्रो स्थानमा अमेरिकी नागरिक १४ जना, दक्षिण कोरियाबाट नौ, भारत, चीन, क्यानडाबाट आठ/आठ जनाले अनुमति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ । हालसम्म हिमाल आरोहणबाट सरकारले चार करोड ९५ लाख पाँच हजार ३७० रुपियाँ रोयल्टी सङ्कलन गरेको छ।

 यसैबीच नेपालमा आरोहण इतिहास रचेको अन्नपूर्ण हिमालमा ७२ वर्षपछि सफाइ हुने भएको अनलाइनखबरले जनाएको छ। सर्वोच्च शिखर सगरमाथामा आरोहणको चापले ज्यादा फोहोर हुने भएकाले सफाइ हुँदै आइरहेको भए पनि अन्नपूर्ण हिमालमा पहिलो पटक सरसफाइ हुन लागेको हो ।

 अन्नपूर्ण हिमाल सरसफाइ गर्ने नेपाली सेनाको टोलीलाई १५ लाख रुपैयाँ सहयोग गरेको पोखरा महानगरपालिकाले बिहीबार बिदाइ गरेको छ । विश्वको १० औं अग्लो अन्नपूर्ण चुचुरोकै कारण पोखराको अस्तित्व पनि माथि उठेको भन्दै मेयर धनराज आचार्यले बिदाइ गर्दै महानगरको झण्डा पनि हस्तान्तरण गरेका छन् । अन्नपूर्ण चुचुरोमा सेनाले पोखरा महानगरको झण्डा पनि फहराउने छ ।

 नेपाली सेनाले सगरमाथासहित ४ हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेकोमा अन्नपूर्ण पनि परेको हो। सेनाले सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य लिएको छ । अन्नपूर्णबाट मात्रै १० हजार किलो फोहोर संकलन गर्ने योजना रहेको पश्चिम पृतना हेडक्वाटर विजयपुरका प्रमुख सेनाली किशोर अधिकारीले जानकारी दिनुभयो।