आजदेखि नेपाल चीन रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा
2023-04-01 17:01:57cri
Share with:

अप्रिल १ तारिखदेखि नेपाल चीन रसुवागढी नाका दुईतर्फी रूपमा सञ्चालनमा आउन लागेको छ । रसुवागढी नाकाबाट आंशिक रूपमा आयात–निर्यात भए पनि ३८ महिनादेखि मानिसको आवतजावत ठप्प थियो । चीनको ल्हासामा गत बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रले आयात–निर्यात खोल्ने सहमति गरेपछि शनिबारदेखि रसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आउन लागेको हो ।

रसुवागढी नाका निकासी पैठारी र मानिसको आवतजावतसहित शनिबारदेखि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभयो। बैठकमा नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले प्रतिनिधिमण्डलको नेतृत्व गरेको कान्तिपुर अनलाइनमा खबर छ ।

रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आउने भएपछि व्यवसायी, व्यापारीलगायत सरोकारवाला उत्साहित छन् । निकास पैठारी र मानिसको आवतजावतका लागि नाकामा तयारी तीव्र पारिएको छ । कन्टेनर चालक, कामदार, व्यापारी तथा व्यवसायीको एन्टिजेन परीक्षण गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताउनुभयो।

शनिबार २५ देखि ३० कन्टेनर सामान पैठारी हुनसक्ने भण्डारीले जनाउनुभयो । केरुङ जान नेपाल–चीन सीमा पास नवीकरण तथा नयाँ बनाउन शनिबार बिहान ६ बजेदेखि नै अध्यागमन कार्यालय खुला रहने अध्यागमन कार्यालय रसुवागढी रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो। ०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात प्रभावित थियो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात–निर्यात बन्द थियो । कोभिडका कारण रोकिएको सामान निर्यात ३५ महिनापछि गत पुस १२ देखि खुलेको हो । मानिसको आवतजावत भने ३८ महिनादेखि नै ठप्प थियो ।