नेपालमै बनाइएको स्याटेलाइट ‘मुनाल’ अन्तरिक्षमा पठाइने
2023-04-01 17:03:09cri
Share with:

नेपालमै बनाइएको स्याटेलाइट ‘मुनाल’ अन्तरिक्षमा पठाइने भएको छ । भारतको बेंगलुरुमा प्राविधिक परीक्षण गराइएको यो स्याटेलाइटको ‘फ्लाइट मोडल’ बनेपछि दसैंअघि अन्तरिक्षतर्फ प्रक्षेपण गरिने भएको हो । यसको आकार नेपाली स्याट–१ जस्तै १यू छ । यो भनेको १० घन सेन्टिमिटर हो । तौल एक केजी हाराहारी मात्रै छ ।

मुनाल स्याटेलाइट नेपाली स्याटभन्दा केही परिस्कृत छ । दुइटा क्यामेरा छन् । आरजीबी र इन्फ्रारेड इमेज दुवै मिलाइएको छ । नेपाली स्याट १ को ०.३ मेगापिक्सल थियो भने यसको १.३ मेगापिक्सल छ ।

 काठमाडौं विश्वविद्यालय हाईस्कुल (केयूएचएस) परिसरमा स्थापना गरिएको स्पेस सिस्टम ल्याबोरेटरी (एसएसएल) मा मुनाल भू–उपग्रहको इन्जिनियरिङ मोडल तयार भएको छ । इन्जिनियरिङ मोडल प्रक्षेपणअघिको अवस्था हो । यो स्याटेलाइटलाई नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल र केयूएचएसलगायत अन्य सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोग छ ।

 स्याटेलाइट निर्माणको चरणमा इन्जिनियरिङ मोडल जटिल मानिन्छ । यो मोडलमा विभिन्न परीक्षण गरिन्छ । कृत्रिम अन्तरिक्षको वातावरणमा गरिने परीक्षणको चरण ‘मुनाल’ ले पार गरिसकेको छ । अन्तरिक्षमा हुन सक्ने जोखिम र अवस्थाको जस्तै कृत्रिम वातावरण तयार गरेर काम गर्न सक्ने/नसक्ने सम्बन्धमा परीक्षण गरिएको अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियर जनार्दन सिलवालले बताउनुभयो। स्याटेलाइटको डिजाइन म्यानुफ्याक्चरिङ फ्लाइट मोड्युल तयार गर्ने काम भइरहेको छ ।

कान्तिपुर अनलाइनका अनुसार भारतको बेंगलुरुस्थित अनन्त टेक्नोलोजमा केही साताअघि मात्रै मुनालले अन्तरिक्षको वातावरणमा काम गर्न सक्ने/नसक्नेसम्बन्धीको परीक्षण गरिएको थियो । परीक्षण गराउनका लागि सिलावसहित, प्रतिष्ठानकी इन्जिनियर एजिला सापकोटा, निर्माणकर्ताहरू सुशान्त ढकाल र श्रीया प्रधान भारत गएका थिए ।

हाईस्कुल कन्सोर्टियम स्याटेलाइट प्रोजेक्टअन्तर्गत काभ्रे जिल्लाका बानेपा, धुलिखेल र पनौतीमा रहेका विद्यालयका विद्यार्थीले केयूएचएसको स्पेस सिस्टम ल्याबोरेटरीमा स्याटेलाइट बनाइरहेका हुन् । ‘निर्माणको ४ चरणमध्ये ३ वटा पार गरिसकेको अवस्था हो,’ सिलवालले भन्नुभयो । स्याटेलाइटको मिसन डेभलपमेन्ट चरण, ब्रिड बोर्ड मोड्यल र इन्जिनियरिङ मोडल फेज सम्पन्न भइसकेको जानकारी प्रतिष्ठानकी इन्जिनियर अनुजा श्रेष्ठले दिनुभयो।

 विद्यालय तहकै विद्यार्थीबाट पहिलो पटक क्युब स्याटेलाइट बनाउन सिकाउने र नेपालको पहिलो क्युब स्याट नेपाली–स्याट–१ का दुईवटा मिसनलाई निरन्तरता दिनु यो परियोजनाको प्राथमिक उद्देश्य रहेको निर्माणकर्ताले जनाएका छन् । यो परियोजनामा स्टोर एन्ड फरवार्ड (एस एन्ड एफ) र इमेजिङ मिसन छ । मुनालले भू–सतहको हरियाली नक्सांकन र घनत्वको पनि अध्ययन गर्दै छ । यसमा प्रयोग भएको आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतबाट तस्बिर खिच्न थप मद्दत पुग्ने निर्माणकर्ताले बताएका छन् । ‘यसमा भएको एआईको मद्दतबाट चाहिने फोटो मात्रै स्याटेलाइटले खिच्छ । जथाभावी खिच्दैन,’ श्रेष्ठले भन्नुभयो।

मुनालमा दुइटा क्यामेरा जडान गरिएका छन् । जसले आरजीबी र एन–आईआर ब्यान्डका तस्बिरहरू लिनेछन् । एआईले उपयुक्त स्थानमा तस्बिर खिच्न मद्दत गर्नेछ । स्याटेलाइटको ‘एसओसी पेलोड डेमोन्स्ट्रेसन मिसन’ र आर्ट मिसन पनि छ । यसमा नेपाली कला, संस्कृति र इतिहासलाई झल्काउने किसिमले एउटा छुट्टै बोर्ड राखिएको अन्तरिक्ष प्रतिष्ठानकी इन्जिनियर अनुजा श्रेष्ठले जानकारी दिनुभयो ।

स्टोर एन्ड फरवार्ड मिसनअन्तर्गत स्याटेलाइटबाट तथ्यांक लिने र त्यसलाई नास्टमा भएको ग्राउन्ड स्टेसनलाई पठाइनेछ । यो मिसनका लागि ग्राउन्ड सेन्सर टर्मिनल (जीएसटी) जडान गरिएको छ । जसले जलवायुजन्य तथ्यांकहरू संकलन गर्ने निर्माणकर्ताहरूले बताएका छन् । यो मिसनले धेरै ऊर्जा पनि खपत नगर्ने सिलवालले बताउनुभयो।

नेपाली स्याट–१ मा ओबीसी (मुख्य कम्प्युटर), ईपीएस (ऊर्जा प्रणाली) र सीओम (सञ्चारप्रणाली) सिस्टमहरू छरिएर रहेका थिए भने मुनालमा सबैलाई एउटै बोर्डमा राखिएको छ । यस्तै यसमा दुइटा माइक्रो कन्ट्रोलर राखिएका छन् भने स्याटेलाइटको अवस्थाको जानकारी मुख्य कन्ट्रोलर बोर्डमै राखिएको छ । यसअघि नेपाल स्याट–१ मिसनमा छुट्टै राखिएको थियो ।

 बर्डस्–३ परियोजनामार्फत नेपाली स्याट निर्माण भएपछि त्यसलाई थप परिस्कृत गरेर नाम ‘मुनाल’ मिसन राखिएको छ । जापानीहरूले बनाउने स्याटेलाइटको नाम चरासँग राखिदिने र नेपालको स्याटेलाइट पनि बर्ड्स–३ मिसनअन्तर्गत भएकाले स्याटेलाइटको नाम पनि चरासँग मिल्दो राखिएको हो । मुनाललाई करिब ५ सय किलोमिटर माथिको अन्तरिक्षमा राखिने तयारी छ ।

अन्तरिक्ष प्रतिष्ठान नेपालले नास्टैसँगै मिलेर ‘डाँफे’ मिसन पनि सञ्चालन गरेको छ । थाइल्यान्डमा निर्माण गरिएको ‘मल्टी पे लोड क्युब स्याट’ मा दुई वटा मिसनलाई ‘डाँफे मिसन’ नाम दिइएको छ । जसमा दुइटा प्रविधिको प्रयोग हुँदै छ । एउटामा स्याटेलाइटमा प्रयोग गरिने सफ्टवेयरको परीक्षण र अर्को सन् २०२० मा आएको एउटा चिपको अध्ययन हुँदै छ । उक्त चिपले अन्तरिक्षको वातावरणमा त्यहाँको विकिरणहरूले कस्तो असर गर्छ भन्ने सम्बन्धमा अनुसन्धान हुँदै छ ।

 जापानको क्युटेक विश्वविद्यालयमै विद्यावारिधि अध्ययन गरिरहँदा बर्ड्स–३ मिसनअन्तर्गत नेपाली स्याट–१ निर्माणको नेतृत्व गर्नुभएका आभास मास्के  विद्यावारिधि गरेर सन् २०२० मा नेपाल फर्किनुभएको थियो। स्वेदशमै नेपाली स्याट–१ को परिस्कृत भर्सन निर्माण गर्न चाहेकाले नेपाली स्याट–२ ‘पदयात्री’ र नेपाली स्याट–२ ‘विद्यालय’ नाम जुराएर त्यही बीचमा नास्टसँग सहकार्य गर्दै मास्केको नेतृत्वमा अन्तरिक्ष प्रतिष्ठान नेपालको स्थापना भएको हो।कान्तिपुर।