पूर्णरूपमा रसुवागढी नाका खुलेको पहिलो दिन लोड भएका र खाली गरी ५४ कन्टेनर केरुङ पुगेका छन् । सामान लोड भएका २२ र खाली भएका ३२ कन्टेनर केरुङ पुगेका हुन् । शनिबार बिहानदेखि रसुवागढी नाका कोभिडभन्दा अगाडि जस्तै गरी मानिसको आवतजावतसहित पूर्णरूपमा सञ्चालन आएको हो ।
रसुवागढी नाका चीनतर्फको भूभागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा दुवै देशका अधिकारीले औपचारिक कार्यक्रम गरेर शनिबारदेखि पूर्णरूपमा रसुवागढी नाका खुलेको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जनाउनुभयो। कान्तिपुर अनलाइनका अनुसार रसुवागढी नाकाबाट आंशिक रूपमा आयात–निर्यात हुँदै आएको थियो।
नाकाबाट हुने सामान निर्यात पनि ३५ महिनापछि गत पुस १२ देखि खुलेको हो । यसअघि नाकाबाट प्रतिदिन चिनियाँ १४ कन्टेनरले सामान नेपालतर्फ ल्याइदिने गरेका थिए । निर्यात हुने सामान पनि तिनै कन्टेनरले लैजान्थे । शनिबार पैठारी भएका २२ कन्टेनरमा मूर्ति, कार्पेट, बाँसको मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायत वस्तु रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताउनुभयो। शनिबार रसुवागढी नाकाबाट २५ जना आएको र १२ जना गएको पनि अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो। अध्यागमन कार्यालय रसुवागढीले जारी गर्दै आएको नेपाल–चीन सीमा क्षेत्रका नागरिकका लागि प्रस्थान प्रवेश अनुमतिपत्र लिएका २ सय ४० जनाको नवीकरण पनि शनिबार भएको छ ।
नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रे बैठकले ल्हासामा गत बुधबार आयात निर्यात गर्ने सहमति गरेपछि रसुवागढी नाका पूर्णरूपमा सञ्चालनमा आएको हो। बैठकले रसुवागढीबाट निकासी पैठारी र मानिसको आवतजावतसहित पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत नवराज ढकालले बताउनुभयो । अब सीमा क्षेत्रमा व्यवसायीले कुनै किसिमको समस्या भोग्नुनपर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीको भनाइ छ । तातोपानी नाका पनि एक महिनापछि पूर्णरूपमा खुल्ने चिनियाँ अधिकारीले जनाएका छन्। रसुवागढी नाका पूर्णरूपमा सञ्चालनमा आएपछि व्यवसायी, सीमा क्षेत्रका बासिन्दा तथा सरोकारवाला उत्साहित छन्।