चीन र जापानका परराष्ट्र मन्त्रीहरूबीच भेटवार्ता
2023-04-03 15:52:33CRI
Share with:

२ तारिख चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङले पैचिङमा जापानी परराष्ट्र मन्त्री योशिमासा हायाशीसँग भेटवार्ता गर्नुभएको छ। छिन काङले दुई पक्षले नेताहरूबीच प्राप्त महत्वपूर्ण सहमतिलाई निर्देशनको रुपमा लिएर आदान-प्रदान तथा सम्पर्क बढाउने र आपसी सम्बन्धलाई अगाडि बढाउने कुरा बताउनुभयो।

शान्तिपूर्ण सहअस्तित्व र मैत्रीपूर्ण सहयोग चीन र जापानको सम्बन्धको एक मात्रै सही छनौट हो भन्दै छिन काङले एशियामा हाल विश्व विकासको जीवन्त र निहित शक्ति रहेकोले क्षेत्रीय शान्तिको संरक्षण गर्नु र साझा विकासलाई अघि बढाउनु विभिन्न मुलुकको सामान्य इच्छा भएको बताउनुभयो।

अर्को प्रसंगमा परराष्ट्रमन्त्री छिनले थाइवान मामिला चीनको केन्द्रीय हितमध्येको केन्द्रीय विषय भएकाले चीन र जापानबीचको सम्बन्धको राजानीतिक आधारसित सम्बन्धित रहेको बताउनुभयो। चीनले जापानसँग थाइवान मामिलामा हस्तक्षेप नगर्न र कुनै पनि तरीकाले चीनको सर्वभौमिकतामा हानी नपुर्‍याउन आग्रह गरेको कुरा पनि उहाँले बताउनुभयो।

भेटवार्तामा जापानी समकक्षी योशिमासा हायाशीले चालू वर्ष जापान र चीनबीच शान्तिपूर्ण मित्रता सन्धिमा हस्ताक्षर भएको ४५औं वार्षिकोत्सव भएको स्मरण गर्नुभयो। उहाँले जापानले चीनसँग मिलेर दुई मुलुकका नेताहरूबीच प्राप्त महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने, दुई मुलुकको रचनात्मक र स्थिर सम्बन्धको सिर्जनालाई  अगाडि बढाउने, क्षेत्रीय र विश्वको समृद्धि तथा स्थिरताका लागि सकारात्मक भूमिका निर्वाह गर्ने कुरामा जोड दिनुभयो।