पूर्वी नेपालमा छैठौं चौंरी पर्यटन महोत्सवको तयारी
2023-04-03 16:19:32CRI
Share with:

पाँचथरको फालेलुङ गाउँपालिकामा छैठौं चौंरी पर्यटन महोत्सवको आयोजना हुने भएको छ। प्रत्येक नयाँ वर्षका अवसरमा आयोजना हुँदै आएको महोत्सव यो वर्ष जिल्लाको फालेलुङ ४ चारराते भन्ने स्थानमा आयोजना गर्न लागिएको हो। चैत ३० गते सुरु हुने महोत्सव वैशाख २ गतेसम्म सञ्चालन गर्ने आयोजकको तयारी छ । यद्यपि महोत्सवका मुख्य क्रियाकलाप र प्रदर्शनी वैशाख १ गते नै सम्पन्न हुने कान्तिपुर अनलाइनले जनाएको छ। 

हिमाली क्षेत्रमा रहेका चौंरी गाई र तिनका प्रजातिको संरक्षणसँगै चौंरीजन्य उत्पादनहरुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले फालेलुङ गाउँपालिकाको प्रवर्द्धनमा २०७४ सालदेखि यो महोत्सव आयोजना हुँदै आएको छ । यो वर्ष फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था र दीपज्योती युवा क्लबको आयोजनामा महोत्सव आयोजना हुन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

महोत्सवमा पाँच सयभन्दा धेरै चौंरी र याकको प्रदर्शनीसँगै चौंरी र भेडाजन्य उत्पादनका स्टल राखिने आयोजक दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाले जानकारी दिनुभयो। स्टलमा चौंरीको दूधबाट निर्मित घिउ, छुर्पी, चीजसँगै रौंबाट निर्माण भएका वस्त्र र हिमाली संस्कृति झल्काउन वस्तु राखिनेछन् । 

महोत्सवमा नेपालका विभिन्न जिल्लासँगै भारतको पञ्जाव, वेस्टबंगाल, कोलकत्तासँगै भटान हुँदै विभिन्न मुलुकका आन्तरिक र बाह्य गरी दुई हजारभन्दा धेरै नागरिक भित्र्याउने आयोजकको लक्ष्य रहेको छ।