प्रकृतिलाई खुसी बनाउन भुमे पूजा
2023-04-05 16:24:21CRI
Share with:

म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ। रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं. ७ चिमखोलामा मङ्गलबार धुमधामका साथ भुमे पूजा गरिएको छ। हरेक वर्ष चैत महिनाको उजेली मङ्गलबारका दिन परम्परागत रूपमा गरिँदै आइएको भुमे पूजालाई उनीहरूले यस वर्ष पनि निरन्तरता दिएका छन्।

खेती किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदाय वन, जङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने उद्देश्यले भुमे पूजा गर्ने गरेका हुन्। बर्खा लाग्नु अघि बाढी, पहिरो, असिनालगायत प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित प्रकृति पूजाको रूपमा भुमे अर्थात् भूमिको पूजा गर्ने चलन रहेको रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताउनुभयो।

चिमखोलामा भूमे, मन्डली र ताप्केभेरास्थित भुमेथानको पूजा गरिएको छ। चिमखोला गाउँको शिरमा रहेको ऐतिहासिक मन्डली थान र सेवाङमा रहेको भूमे थानमा आफ्नो मनोकामना पूरा हुने विश्वासले जिल्लाको विभिन्न ठाउँबाट आएका भक्तजन आएका थिए।

‘‘आपत विपतमा मण्डली र भुमे देवतालाई गुहार माग्छौँ, मनोकाङ्क्षा पूरा भएपछि भाकलस्वरुप थानमा आएर पन्च्योल स्वरूप पूजा गर्ने चलन छ”, अध्यक्ष पाइजाले भन्नुभयो। चिमखोलामा मण्डली बजै र भुमे थानमा अहिलेसम्मकै धेरै भक्तजन आएका थिए। तीन सय बढीले पन्च्योल नै चढाएका छन्। भुमेथानमा साँढ, मण्डली बजैको थानलाई पाठीको बलि दिने गरिन्छ। मन्डली थानमा आएका भक्तजनले परेवा, नरिवललगायत चढाएरसमेत पूजा गर्छन्।

मन्डली थानको प्रचार–प्रसार हुन थालेपछि हरेक वर्ष यहाँ पूजा गर्न आउनेको सङ्ख्या बढेको थान संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष याम रोकाले बताउनुभयो। यहाँ भुमे देवतालाई खुसी बनाउन कोदोको छ्याङ खाएर रमाइलो गर्ने चलन छ। छेमाहरूले एक महिनाअघि राखेको जाँडलाई भुमेथान परिसरमा विधिपूर्वक चढाएर खाने तथा भुमे देवतालाई खुसी बनाउन सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गारसमेत एकअर्कालाई दलेर रमाइलो गर्ने चलन छ।

भुमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुर्ख्यौली सेदो गीत, भैच मायालेलगायत गीतमा नाचगान गर्दै गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक र अगुवालाई काँधमा बोकेर सम्मान गर्ने चलन छ।

यसैबीच भुमे पूजाको अवसरमा चिमखोलामा विविध सांस्कृतिक एवं खेलकुद मेला सुरु भएको राससले जनाएको छ।