पर्यटक लोभ्याउन घाँसे मैदान विस्तार
2023-04-07 16:18:04CRI
Share with:

वन्यजन्तुको आहारा बढाउन चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा घाँसे मैदान र पोखरीको क्षेत्र बढाइँदै छ। जंगलभित्र चरीचरण क्षेत्रको अभाव हुन नदिन निकुञ्जले घाँसे मैदान क्षेत्र बढाउन सुरु गरेको हो। वन्यजन्तुले कलिलो घाँस खान मन पराउने भएकाले मैदान बढाउदै लगिएको छ।

निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा पुराना घाँसे मैदान व्यवस्थापन र नयाँ क्षेत्र बढाउँदै लगिएको छ। वन्यजन्तुलाई पर्याप्त आहारा बढाउन मैदान र पानी पोखरी पनि निर्माण गरिएको छ।

९ सय ५२ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जमा घाँसे मैदान र आहाल खेल्ने स्थान (घोल) बढाउन निकुञ्जले काम थालेको हो। निकुञ्जको कुल क्षेत्रफलको १० प्रतिशत क्षेत्र घाँसे मैदान छ। पर्याप्त घाँसेमैदान वन्यजन्तुको चरीचरण क्षेत्र भएकाले तिनको संख्या बढाउन पनि मद्दत पुग्छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ५० हेक्टरमा हाल नयाँ घाँसे मैदान बनाइएको हो। ५ वटा पोखरी पनि निर्माण गरिएको छ। आहाल र हिउँदमा पानीको पर्याप्तता बढाउन पोखरी बनाइएका हुन्। बुट्यान नभएको र सिमसार क्षेत्रमा वन्यजन्तुका लागि पानी खान र आहाल खेल्न पोखरी निर्माण गरिएको हो। पहिलो चरणमा यो वर्ष २५ लाखको लागतमा ५० हेक्टरमा थप घाँसेमैदान निर्माण भएको कान्तिपुर अनलाइनले लेखेको छ।

पुरानो २ सय २५ हेक्टर क्षेत्रफल घाँसे मैदान व्यवस्थानमा निकुञ्जले करिब ३४ लाख खर्च गरेको छ। निकुञ्जभित्रको लक्ष्मी ताल क्षेत्र, तमोर ताल र भिम्ले क्षेत्रमा ताल निर्माण गरिएको हो। पुराना ताल र घोल व्यवस्थापनमा पनि निकुञ्जले चासो दिँदै आएको छ।

बाघको आहाराका लागि उसले सिकार गर्ने प्रजाति चित्तल, हरिण र अन्य जन्तुको संख्या पर्याप्त हुनु आवश्यक छ। घाँसे मैदानको क्षेत्र बढ्दा ती जन्तुको बासस्थान पनि बढ्छ। हरिण, चित्तल लगायत वन्यजन्तुको संख्या बढ्दा बाघको आहारा बढ्छ । घाँसे मैदान बढ्दा आहाराको खोजीमा बास गाउँबस्ती पस्ने सम्भावना कम हुन्छ।

मध्यवर्ती सामुदायिक वनहरूले घाँसे मैदान जोगाउन प्राथमिकता दिएका कारण वन्यजन्तु बाक्लो संख्यामा चर्न आउने र त्यही देखाएर होमस्टे र अन्य पर्यटकीय होटलले पर्यटक आर्कषण गर्न हानथाप नै हुने गरेको छ।