भारतीय सीमा ठोरी र चीनको सीमा रोइला जोड्ने व्यापारिक मार्ग बन्दै
2023-04-07 16:15:36CRI
Share with:

चितवनको ठोरी (नेपाल–भारत सीमानाका) बाट गोरखाको रोइला भञ्ज्याङ (नेपाल–चीन सीमानाका) सम्म उत्तर–दक्षिण व्यापारिक मार्ग बन्ने भएको छ। यस रुटमा पर्ने हालकै सडकलाई स्तरोन्नति र थप सडक विस्तार गरेर चितवनको ठोरीबाट गोरखाको रोइलासम्म व्यापारिक मार्ग बनाउने योजनामा सडक विभाग पुगेको छ।

हाल चीन र भारतलाई जोड्ने गरी कर्णाली, कालीगण्डकी र कोसी करिडोर लोकमार्ग निर्माणका चरणमा छन् । अब चीन र भारतलाई जोड्ने गरी उत्तर–दक्षिण मार्ग बनाउन लागिएको नयाँ पत्रिका दैनिकले लेखेको छ।

अहिले चितवनको ठोरीसम्म सडक सञ्जाल पुगिसकेको छ। गोरखामा पनि बेनीघाट–आरुघाट–सान्दो बजार–लार्के भञ्ज्याङ खण्डमा सडक निर्माण भइरहेको छ। अन्य खण्ड (चितवनको नारायणगढ–मुग्लिन–बेनीघाट) मा यसअघि नै सडक बनिसकेका छन्। अब गोरखाको सान्दो बजारबाट नेपाल–चीन सीमानाका रोइला भञ्ज्याङसम्म थप सडक विस्तार गर्ने विभागको तयारी छ । साथै, त्यसलाई दीर्घकालीन रूपमा उत्तर–दक्षिण व्यापारिक राजमार्गका रूपमा अघि बढाइने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभएको छ।

‘गोरखाको सान्दो बजारबाट नेपाल–चीन सीमानाका रोइला भञ्ज्याङसम्मको दूरी आठ–नौ किलोमिटर मात्रै छ। साथै, त्यहाँ सडक बनाउन भौगोलिक रूपमा पनि फिजिबल देखिएको छ। सोहीअनुसार तत्काल रोइला भञ्ज्याङसम्म सडक विस्तार गर्ने हाम्रो योजना छ,’ उहाँले भन्नुभयो, ‘साथै, यसलाई दीर्घकालीन रूपमा व्यापारिक राजमार्गकै रूपमा अघि बढाउने हाम्रो योजना छ।’ कम लागतमा नै यो आयोजना बनाउन सकिने उहाँको भनाइ छ ।

हाल गोरखामा बेनीघाट–आरुघाट–सान्दो बजार–लार्के भञ्ज्याङ (गोरखा लमजुङ सीमा क्षेत्र) सडक आयोजना निर्माणाधीन अवस्थामा छ। तर, लार्के भञ्ज्याङसम्म सडक पुर्‍याउँदा त्यति फाइदा नहुने विभागको भनाइ छ। त्यसपछि यसलाई संशोधन गरेर बेनीघाट–आरुघाट–सान्दो बजार–रोइला भञ्ज्याङ आयोजनाका रूपमा अघि बढाइने आयोजना प्रमुख पशुपति ज्ञवालीले बताउनुभयो। अब सान्दो बजारबाट लार्के भन्ज्याङतर्फ नभई सान्दो बजारबाट रोइला भञ्ज्याङतर्फ सडक निर्माण गरिने उहाँको भनाइ छ ।

बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक आयोजना ०७६ मा राष्ट्रिय राजमार्गमा सूचीकृत भइसकेको छ। कुल एक सय ५८ किमि लामो हुने यस सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको छ। त्यसमा तल्लो भेगमा पर्ने बेनीघाट–हावाडाँडा खण्ड (८५ किमि)को ट्र्याक खुलिसकेको छ। हावाडाँडाबाट लार्के भञ्ज्याङसम्मको खण्ड (७३ किमि )मा भने नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ।

चीनबाट रोइला भञ्ज्याङ नाकासम्म पक्की सडक आइसकेको छ। त्यो अवस्थामा रोइला भञ्ज्याङसम्म सडक पुर्‍याउन सकेमा नेपाल–चीनबीचको कनेक्टिभिटीमा कोसेढुंगा साबित हुने महानिर्देशक ढकालले बताउनुभयो। साथै, गोरखा जिल्लाको विकासमा समेत कोसेढुंगा साबित हुने उहाँको भनाइ छ।

साथै, नेपाल–चीन व्यापारमा पनि महत्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो। ‘यसले भारत, नेपाल र चीनबीच हुने व्यापारमा समेत महत्वपूर्ण योगदान हुने सम्भावना छ। किनकि, यो सडकमार्फत दक्षिण सीमा क्षेत्र ठोरी र उत्तरी सीमा क्षेत्र रोइलालाई एक–आपसमा जोड्छ । तसर्थ, यसले भारत, नेपाल र चीनबीचको व्यापारमा समेत सहयोग पुग्छ,’ उहाँले भन्नुभयो, ‘तसर्थ, यसलाई व्यापारिक मार्गका रूपमै विस्तार गर्ने दीर्घकालीन योजनामा छौँ।’

हाल नेपाल र चीनबीच रसुवागढी, कोरला, तातोपानी, किमाथांका, लोमाङथाङ, ओलाङचुङगोलालगायतका ठाउँमा नाका सञ्चालनमा छन्। अब गोरखास्थित रोइला भञ्ज्याङबाट अर्को नाका सञ्चालनमा आउने सम्भावना देखिएको छ।