चिनियाँ सहयोगमा कलङ्की–बसुन्धारा सडक विस्तारको तयारी
2023-04-07 16:09:58CRI
Share with:

चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ। सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ।

चक्रपथको सो खण्ड विस्तारका लागि सडक विभागले केही वर्ष पहिलेदेखि  निर्माणस्थल खाली गराउन लागे पनि कोभिड सङ्क्रमणका कारण चिनियाँ पक्ष आएको थिएन। अहिले अवस्था सामान्य हुँदै जाँदा काम अघि बढाउन चाहेको विभागले जनाएको छ।

चिनियाँहरू आएर काम गर्न खोजेका र दुई पटक स्थलगत भ्रमण पनि गरेको विभागका विकास सहायता समन्वय महाशाखा प्रमुख डा विजय जैसीले बताउनुभयो। पहिले पूर्वसम्भाव्यता अध्ययन गरेर काम कसरी गर्ने भनी छलफल गरिरहेको उहाँले जानकारी गराउनुभयो।

चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरिएको थियो। सो सडकमा निर्माणस्थल खाली नगर्दै काम सुरु गरिएकाले विस्तारका क्रममा धेरै समस्या आएको थियो। त्यही अनुभवका आधारमा चिनियाँ पक्षले पहिले निर्माणस्थल खाली भएपछि मात्रै निर्माण सुरु गर्न सरकारलाई भनेको थियो।

निर्माणस्थल खाली गराउँदा धेरै समस्या व्यहोर्नुपरेको  विभागले जनाएको छ। अहिले निर्माणस्थल खाली गर्ने क्रममा आएका धेरै समस्या समाधान भइसकेको राससले जनाएको छ।

अहिलेसम्म चिनियाँ पक्षले निर्माण गर्ने लेनमा झन्डै ८० प्रतिशत जग्गा खाली गरिएको छ। गोङ्गबुचोक नजिकै मन्दिर भत्काइएको, स्वयम्भू नजिकै बाँकी रहेका दुई–तीनवटा विद्युत्को पोल सारिएको र बसुन्धाराको बिसौनी नजिकै पनि निर्माणस्थल खाली भइरहेको बताइएको छ।

सरकारले दोस्रो चरणमा चिनियाँ पक्षलाई कलङ्कीबाट चाबहिलको धोबीखोलासम्म विस्तारका लागि भनेको थियो।

तयारीका सबै काम सकाएर निर्माणमा जान अब एक वर्ष लाग्ने विभागले जनाएको छ। पहिलेको डिजाइनभन्दा केही संशोधन गर्नुपर्ने भएकाले गर्न लागिएको प्रमुख जैसीले बताउनुभयो। विभागले विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्नाका साथै एउटा खाका बनाएर चिनियाँ पक्षलाई दिएको उहाँले जानकारी गराउनुभयो।