साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत निर्माण हुँदै
2023-04-08 16:23:49CRI
Share with:

साइपाल गाउँपालिका–४ धुली क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले दुई सय १६ मेगावाटको जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरेको छ। ‘बझाङ माथिल्लो सेती जलविद्युत आयोजना’ निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको (ईआइए) सार्वजनिक गरी रामुखोलामा बन्ने विद्युत गृह र सेती–इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ।

आयोजना संयोजक विश्वनाथ कँडेलका अनुसार अहिले सुरूवाती काम भइरहेको छ। “आयोजना अन्तर्गत वातावरण प्रभाव मूल्याङ्कनको मस्यौदामाथि सार्वजनिक सुनुवाइ, पानीको सुरूङमार्गका लागि माटो, ढुङ्गा परीक्षणका साथै अन्य प्रारम्भिक काम भइरहेको छ”, उहाँले भन्नुभयो।

प्रारम्भिक अध्ययनका लागि आयोजनास्थल र साइपाल गाउँपालिका सडक सञ्जालमा नजोडिएको हुँदा परीक्षण गर्ने सामग्री तथा उपकरण पनि हेलिकप्टरमार्फत् ढुवानी गरेर काम गरिरहेको छ।

जलविद्युत आयोजना साइपाल–४ धुलीको सेती नदी र इङ्गल्दार खोलाको सङ्गमबाट करिब एक सय ५० मिटर तल सेती नदीमा ३९ मिटर लामो र १३ दशमलव चार मिटर उचाइको बाँध बनाइ सुरूङमार्फत् विद्युत गृहमा पानी पठाउने र विद्युत् निकाल्ने कम्पनीका इञ्जिनियर सुधीर देवकोटाले बताउनुभयो।

देवकोटाका अनुसार धुलीमा ईआइएबारे सार्वजनिक सुनुवाइ गरेपछि कम्पनीले हाल बाँधस्थल र विद्युत गृहस्थलमा नियमित अध्ययन गरिरहेको छ।

आफ्नो ठाउँमा जलविद्युत आयोजना बन्ने भएपछि स्थानीय उत्साहित भएका छन्। जिल्लाको सबैभन्दा अग्लो ठाउँमा ठूलो विद्युत् बनेपछि सबै पूर्वाधारमासमेत विकास हुने भन्दै उत्साहित भएका हुन्।

निर्माण कम्पनीका अनुसार बझाङ माथिल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि रु ४१ अर्ब ६४ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ। जसमा ७० प्रतिशत अर्थात् २९ अर्ब निर्माण कम्पनीले विभिन्न बैंकमार्फत् लगानी जुटाउनेछ भने ३० प्रतिशत अर्थात् १२ अर्ब रूपैयाँ सर्वसाधारणको हुनेछ। कम्पनीका अनुसार विसं २०९० सम्ममा आयोजनाको निर्माण पूरा भएर बिजुली उत्पादन हुने राससले जनाएको छ।