चीनको सहयोगमा पुनःनिर्मित दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे
2023-04-08 16:01:17CRI
Share with:

ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ। कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित यस विद्यालयमा नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्ययममा पढाइ हुने हुँदा हरेक दिन नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढिरहेको राससले जनाएको छ।

आठ वर्षअघिको भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ हाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको थियो।

काठमाडौँको मुटुमा रहेको ऐतिहासिक धरोहर यस विद्यालयमा आगामी शैक्षिक सत्रका लागि विद्यालयले यही चैत १७ देखि २८ गतेसम्म नयाँ भर्नाका लागि आह्वान गरेको थियो। शिशु कक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको यस विद्यालमा तलका कक्षमा पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने गरेका छन्।

साथै एसइई सामुदायिक विद्यालयबाट गरेपछि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएकाले पनि पछिल्लो समय माथिल्लो कक्षामा विद्यार्थी सिट सङ्ख्याभन्दा बढी आउने गरेको यस विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले बताउनुभएको छ।

नयाँ भर्नाका लागि आउने विद्यार्थी केही अन्य सामुदायिक विद्यालयबाट नै आएका छन् भने अधिकांश निजी विद्यालयबाट आएका छन्। भूकम्प जानुअघि उक्त विद्यालयमा ७१ जना मात्र विद्यार्थी अध्ययनरत रहेकामा अहिले बढेर पाँच सय ९१ पुगेको छ। गोर्खा भूकम्पकले पूर्णरूपमा क्षति भएको यस विद्यालयमा ३० शिक्षक कार्यरत छन्।

ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए। कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीका छोराछोरीको आकर्षण बढी छ।

आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको उक्त स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित रहेका छन्। नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षा कोठा छन्।

भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ हाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो। भूकम्पपछि उक्त स्कुल पुनर्निर्माणको शिलान्यास विसं २०७५ साउन १८ गते गरिएको थियो। विसं २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवन उद्घाटन गरेपछि पुनःसञ्चालनमा आएको हो।

विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा उक्त विद्यालय स्थापना भएको थियो। सुरुमा निर्माण गर्दा माटो, इँट्टा र सुर्की (माटो र चुनबाट बनेको निर्माण सामग्री) को प्रयोग भए पनि अहिले आधुनिक निर्माण सामग्रीले बनेको छ।