लुम्बिनीमा सोलारबाट ६० मेगावाट विद्युत उत्पादन
2023-04-09 16:55:55CRI
Share with:

लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्नका लागि ६ वटा सोलार विद्युत आयोजनाको निर्माण भइरहेको छ। लुम्बिनी प्रदेशको बाँके, दाङ र कपिलवस्तु जिल्लामा निर्माण गरिएका र निर्माणाधीन ६ वटा सोलार विद्युत् आयोजनाबाट ६० मेगावाट विद्युत् उत्पादन गर्न लागिएको गोल्याण समूहले जनाएको छ।

बाँकेको खजुरा गाउँपालिका ८ घिया गाउँमा निर्माण गरिएको सोलार विद्युत् आयोजनास्थलमा गोल्याण समूहका प्रमुख कार्यकारी अधिकृत प्रविण अर्यालले बाँकेको एउटा आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको र अर्को आयोजनाबाट १० मेगावाट विद्युत् निकाल्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो।

उहाँले सोही प्रकारले दाङ जिल्लाको सतबरियामा निर्माणाधीन दुई वटा आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने तथा कपिलवस्तु जिल्लाको चन्द्रौटाबाट पनि दुई वटा आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम गरिरहेको बताउनुभएको छ।

उहाँले बाँकेका दुई वटा आयोजनाबाट २० मेगावाट विद्युत उत्पादन भइसकेको जनाउँदै सरकारले समयमै विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने हो भने आगामी डेढ वर्ष भित्रै थप ४० मेगावाट विद्युत पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताउनुभयो।

दाङ र कपिलवस्तुमा रहेका चारवटै आयोजनाका लागि सरकारबाट विद्युत खरिद सम्झौता (पिपिए) गर्न सरकारलाई आग्रह गरिएको जनाएको छ।

अबको ८ वर्षमा सो समहूले जलविद्युत् र सोलार विद्युत आयोजनाबाट ८ सय भन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्ने गरी विभिन्न १४ वटा आयोजनामा काम गरिरहेको समूहका प्रमुख कार्यकारी अधिकृत अर्यालले बताउनुभयो।

गोल्याण समूहको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरिरहेकोमा १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ भने १० मेगावाट दुई महिनाभित्र जोडिने छ।

पश्चिम नेपालको बाँकेलगायतका स्थानमा सौर्य ऊर्जाको राम्रो सम्भावना रहेको गोरखापत्र अनलाइनले लेखेको छ।