वैशाख २ मा १६औँ दरबारमार्ग सडक महोत्सव
2023-04-10 18:42:15cri
Share with:

आगामी वैशाख २ गते एनसेल प्रिजेन्ट्स पर्पल स्याटर्डेः १६औँ दरबारमार्ग सडक महोत्सव हुने भएको छ। ‘नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम’ नारासहित साथ सडक महोत्सव हुने भएको हो। नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एन्ड बार एसोसिएशन नेपाल (रेबान)ले एनसेलसँगको सहकार्यमा महोत्सव हुने भएको हिमालप्रेस अनलाइनले जनाएको छ।

 

लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल बढाउन महोत्सव हुन लागेको आयोजकले जानकारी दिएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृति प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको छ।

 

काठमाडौँ महानगरपालिकाभित्रको सांस्कृतिक प्रवद्र्धन एवं संरक्षणमा समेत महोत्सव सहयोगी हुने अपेक्षा गरिएको छ। महोत्सवमा काठमाडौँ उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुति रहनेछ। महोत्सवको वैशाख २ गते शनिबार बिहान साढे ११ बजे औपचारिक रूपमा सुरु हुनेछ।

 

गीतसंगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति रहने महोत्सव बेलुका साढे ८ बजेसम्म चल्नेछ। महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरूको प्रस्तुति रहनेछ।