नेपाली चिया निर्यातलाई सहज बनाइदिन व्यवसायीहरूको आग्रह
2023-04-10 18:43:21cri
Share with:

नेपाली चिया निर्यातमा व्यहोर्नु परिरहेको समस्या र ती समस्या समाधानका लागि सरोकारवाला निकायहरूले समन्वय गर्ने बताएका छन् । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका पहलमा मेची भन्सार कार्यालय मेचीमा आयोजना भएको सरोकारवालाहरूको छलफलमा यस्तो बताइएको हो। चिया किसान तथा व्यवसायीहरूले सीमा क्षेत्रमा गुणस्तर जाँच गर्ने प्रयोगशाला नहुनु, परीक्षणका लागि चियाको नमुना कोलकाता पठाउनुपर्ने बाध्यता रहेको र त्यसको रिपोर्ट आउन ढिलाइ हुने गरेको, भारतले नयाँ–नयाँ बहाना झिकेर निर्यात रोक्ने प्रयास बारम्बार गर्ने गरेको गुनासो गरेका थिए।

 

यहाँ उत्पादन भएको नेपाली चिया निर्यात रोक्न भारतमा विभिन्न बहाना खोजिनु गरेको भन्दै झापा र इलामका चिया उद्योगी तथा व्यवसायीहरूले यस विषयमा सबैलाई गम्भीर हुन आग्रह पनि गरेका छन् । महावाणिज्य दूत ईश्वरीराज पौडेलले समस्याको दीर्घकालीन समाधानका लागि आफूले प्रयास गर्ने बताउनुभएको छ ।नेपाली चिया निर्यातको समस्याका विषयमा दुवै देशका सरोकारवालाहरूसँग कुरा राख्नेछु, उहाँले भन्नुभयो । समस्याको अल्पकालीनभन्दा दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने देखिन्छ, पौडेलको भनाइ थियो। आफूलाई चिया क्षेत्रको समस्याको विषयमा जानकार रहेको बताउँदै आवश्यक सहजीकरणको लागि आफू सधैँ नै लागिपर्ने पनि पौडेलले प्रतिबद्धता जनाउनुभयो ।

 

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, मेची भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकलगायतले चिया क्षेत्रको समस्या समाधानका लागि दुवै देशको सरकारबीच उच्चस्तरीय छलफल आवश्यक रहेको आफूहरूले अनुभूत गरेको बताउँदै आफ्नो तर्फबाट यसका लागि गर्न सक्ने पहल गर्न बताउनुभयो ।

नेपालबाट वार्षिक तीन अर्ब रुपियाँभन्दा बढीको तयारी चिया निर्यात हुने गरेको मेची भन्सार कार्यालयले जनाएको छ । यसमा सबैभन्दा बढी चिया भारतमा निर्यात हुने गरेको पाइन्छ । गोरखापत्र अनलाइन।