सय दिनमा अर्थतन्त्रमा निकै सुधार आएको प्रधानमन्त्री दाहालको दाबी
2023-04-11 16:47:34cri
Share with:

चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको र ऊसँग सहकार्य गर्न आफू तयार रहको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ। नेपाल चेम्बर अफ कमर्सको ७२औं वार्षिक साधारणसभाका अवसरमा सोमबार दाहालले सरकारका पछिल्ला सय दिनमा अर्थतन्त्रमा निकै सुधार आएको दाबी गर्दै भन्नुभयो,‘बाहिर अर्थतन्त्र समस्यामा गयो, ध्वस्त भयो जस्ता कुरा आएका छन् । तर ३ महिनामा अर्थतन्त्रमा निकै सुधार आएको छ। जसरी संकट छ, संकट छ भन्ने गरिएको छ, त्यस्तो स्थिति छैन ।’ हाल विदेशी मुद्रा सञ्चिति १० महिनाभन्दा बढीलाई पुग्ने स्थिति रहेको दाहालको भनाइ छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने तयारी भइरहेको उहाँले जनाउनुभयो।

अर्थतन्त्रका आधारभूत सूचक प्रारम्भिक रूपमा सकारात्मक दिशातर्फ उन्मुख रहे पनि पूर्णतः संकटमुक्त भइनसकेको भने प्रधानमन्त्री दाहालको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा समस्या देखापरे पनि निराशाजनक अवस्था भने नरहेको दाबी गर्नुभयो। नेपालको अर्थतन्त्रमा केही समस्या भए पनि सोचेको जस्तो निराशाजनक नरहेको उहाँले बताउनुभयो। लगानीको माहोल नकारात्मक भएका कारण लगानी भित्र्याउन कठिन भएको उहाँको भनाइ छ । ऋणको ब्याजदर वृद्धि हुँदा ‘रेट अफ रिटर्न’ माथि गएपछि अप्ठ्यारो परेको उहाँले जनाउनुभयो । यसका लागि पनि ब्याजदर कम गर्ने विषयमा राष्ट्र बैंकसँग कुरा गरेर केही राहत दिने उहाँको भनाइ छ । ऋण नतिर्ने प्रवृत्तिलाई भने राज्यले सहन नसक्ने उहाँले बताउनुभयो।

कान्तिपुर अनलाइनका अनुसार व्यवसायमा आएको मन्दीका कारण समस्या आएको भए राहत र केही सहुलियत दिन सरकार तयार रहेको उहाँको भनाइ छ ।

 

बैंक तथा वित्तीय संस्थाहरूले कर्जामा लागू गरेको उच्च ब्याजदरकै कारण व्यावसायिक क्षेत्रमा अहिलेको विषम परिस्थिति उत्पन्न भएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो। राजस्वले चालु खर्च पनि धान्न नसक्ने अवस्था हुनु मुलुकका लागि सुखद संकेत नभएको उहाँको भनाइ थियो।

 

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई सरकारले नछाड्ने बताउनुभयो।। अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा सोमबार दाहालले कसैले पनि बैंकको ऋण लिएर तिर्दिनँ भन्न नमिल्ने दाबी गर्नुभयो। प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको उहाँको भनाइ छ ।

 

हामीले बैंकको ब्याजदर घटाउने उपाय खोजिरहेका छौं । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौं, प्रधानमन्त्री दाहालले भन्नुभयो, विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस हुँदै छ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ । बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिसँग बृहत् छलफल गर्नेबारे पनि छलफल भइरहेको प्रधानमन्त्रीले दाहालले बताउनुभयो ।  हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले आपसमा सहयोग लिएर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सकिन्छ ।

अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार रहेको प्रधानमन्त्रीको भनाइ छ । भूकम्प, कोभिड, रुस र युक्रेनको युद्धलगायत कारण छन् । आयात, निर्यातसम्बन्धी निर्यातमा भएका सीमाहरूको कारण पनि छ । राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौं, उहाँले भन्नुभयो,  अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदै छौं । घरजग्गा कारोबारमा सहजीकरण नगरी तरलताको समस्या सम्बोधन गर्न सक्दैनौं । त्यसकारण यसमा पनि हामी छिट्टै निष्कर्षमा पुग्छौं ।

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृतलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।