गण्डकी प्रदेशको हेम्जामा आलु महोत्सव सुरु
2023-04-11 16:53:03cri
Share with:

‘सुन्दर ठाउँ हेम्जा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ नाराका साथ हेम्जामा आइतबारदेखि आलु महोत्सव सुरु भएको छ । विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि नीति सुधार्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिँदै अबको बजेट किसानमुखी बनाउन पहल भइरहेको पनि उल्लेख गर्नुभयो ।

 

प्रदेश सभा सदस्य गणेशमान गुरुङले कृषिकर्म गर्दा खुसी हुने संस्कार सुरु गर्नुपर्ने स्पष्ट पार्दै कृषि पेसालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको औँल्याउनुभयो । निर्वाहमुखी खेतीले केही नहुने भन्दै सदस्य गुरुङले महोत्सवसँगै उत्पादनमा जोडिन सबैलाई आग्रह गर्नुभयो।

कृषि मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईले हेम्जा र आलु पर्यायजस्तै भएको बताउँदै आयोजकप्रति आभार प्रकट गर्नुभयो । आलुविज्ञ श्यामप्रसाद ढकालले हेम्जावासीलाई नियमित खाने र उद्योगसँग जोड्ने गरी आलुको उत्पादनमा लाग्न सुझाव दिनुभयो ।

उहाँले बुहुउद्देश्यीय किसान सहकारीले सुरुवात गरेको महोत्सवलाई निरन्तरता दिएकोमा आयोजक क्लबप्रति आभार प्रकट गर्दै पोखरा–२५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले आलु महोत्सवले हेम्जालाई मात्र नभई समग्र पोखरा क्षेत्रलाई नै विश्वभर चिनाएको औँल्याउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका भरतराज ढकाल, हेम्जाका अगुवा कृषक चित्रनाथ पौडेललगायतले आफ्ना धारणा राख्दै असली कृषकसमक्ष अनुदान पुग्नुपर्ने, कृषि उपजको मूल्य व्यवस्थापन गरी उत्पादनमा जट्नुपर्नेमा जोड दिनुभएको थियो ।