काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा सडक महोत्सव हुने
2023-04-12 14:50:26cri
Share with:

ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष–२०८० को पूर्वसन्ध्यामा ‘न्यु इयर इभ’ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ। परिषद्ले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीलाई ध्यानमा राखेर ठमेलको पर्यटन प्रवर्द्धनका लागि सडक महोत्सव आयोजना गर्न लागेको बताउनुभयो। उहाँले महोत्सवमार्फत ठमेल विदेशी पर्यटकमा निर्भर रहेको भ्रम चिर्दै आन्तरिक पर्यटकको आवागमन बढाउन, बस्न र घुम्नका लागि ठमेल जानुपर्छ भनेर पारिवारिक वातावरण सिर्जना गर्ने जानकारी दिनुभयो । चैत ३० गते साँझ सुरु हुने महोत्सव नयाँ वर्षलाई स्वागत गरेर वैशाख १ गते राति १२ बजे सकिनेछ । सडक महोत्सव नगरीकन आमसर्वसाधारणलाई ठमेल लैजान नसकिने भनाइ उहाँको छ। अध्यक्ष शर्माले सडक महोत्सवमा आधुनिक साङ्गीतिक कार्यक्रमदेखि सांस्कृतिक साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिने गोरखापत्र अनलाइनले जनाएको छ।

 

यसअघि अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा एक लाख दर्शक सडक महोत्सवमा सहभागी रहेको जनाउँदै उहाँले यस पटक पनि एक लाखकै हाराहारीमा दर्शकले सहभागिता जनाउने बताउनुभयो । महोत्सव व्यवस्थापनका लागि आवश्यक तयारी भइसकेको जनाउँदै उहाँले नयाँ वर्षका अवसरमा ठमेल क्षेत्रका होटलमा अत्यधिक कोठा बुकिङ भइरहेकोसमेत बताउनुभयो ।

सडक महोत्सवमा आउने आगन्तुकलाई सस्तोमा मिठो खानेकुरा ख्वाउने प्रतिबद्धता जनाउँदै उहाँले सडकमै सोचेजस्तो पारिवारिक वातावरणमा खान, बस्न, घुम्न पाइने बताउनुभयो । महोत्सवमा नेपाली मौलिक कला, संस्कृति, साङ्गीतिक कार्यक्रम र ठमेलका व्यवसायीले उत्पादन गरेका विभिन्न सामग्रीको प्रदर्शन हुनेछ । सडक महोत्सवलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरीसँग र यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग छलफल भइसकेको छ। परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल सडक महोत्सवले ठमेलभित्रका व्यवसायीका वस्तु तथा सेवाको प्रवर्द्धन हुने बताउनुभयो।