जलविद्युत आयोजनाका लागि पहिलो पटक चीनबाट विस्फोटक पदार्थ आयात
2023-04-12 14:48:48cri
Share with:

भारतले चिनियाँ कम्पनी संलग्न आयोजनालाई विस्फोटक पदार्थ आयातको अनुमति नदिएपछि व्यवसायीले चीनबाट ल्याउन थालेका छन् । चीनको ल्हासाबाट पहिलो पटक ९० टन विस्फोटक पदार्थ आएको हो । व्यवसायीले होङ्सी शिवम् सिमेन्ट र ७८ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजनाका लागि चीनबाट विस्फोटक पदार्थ आयात गरेको कान्तिपुर अनलाइनले जनाएको छ।

चिनियाँ संलग्न आयोजनालाई भारतले कारण नदेखाई अड्काएपछि व्यवसायीले विकल्पका रूपमा चीनबाट समेत विस्फोटक पदार्थ आयात सुरु गरेका हुन्। भारतले आयोजनामा चिनियाँ कम्पनी संलग्न रहेको खण्डमा पूर्वाधार निर्माणमा चाहिने विस्फोटक पदार्थ दिनमा आनाकानी गर्ने गरेको व्यवसायीहरूको आरोप छ । ७८ मेगावाटको सान्जेन खोला चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित सलासुंगी पावर लिमिटेडले निर्माण गरिरहेको छ । यस आयोजनाका लागि भारतबाट पटकपटक विस्फोटक पदार्थ ल्याउन गरिए पनि प्रयास असफल भएपछि कम्पनीले करिब ७ महिनाअघि चीनबाट ल्याउने तयारी थालेको थियो । पहिलो चरणमा ९० टन विस्फोटक पदार्थ सोमबार भन्सारपास भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का कोषाध्यक्ष आनन्द चौधरीले जनाउनुभयो।

 

चीनबाट पहिलो पटक विस्फोटक नेपाल आएको र अब सहज रूपमा आयात हुने इप्पान उपाध्यक्ष मोहनकुमार डाँगीको विश्वास छ । भारतबाट विस्फोटक आयात कठिन बन्दै गएपछि चीनबाट ल्याउन अनुमतिका लागि इप्पानले पटकपटक आग्रह गर्दै आएको थियो । नेपाली सेनाको मकवानपुर, सुनाचरीमा रहेको इमल्सन प्लान्टमा उत्पादन हुने विस्फोटक पदार्थले माग धान्न सकेको छैन । विस्फोटक पदार्थ अभावमा १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना, ७८ मेगावाटको सान्जेन, मेगावाटको त्रिशूली–१ जलविद्युत् आयोजना, ४७.८० मेगावाटको खिम्ती–२, तल्लो इर्खुवा खोलालगायतका आयोजनामा ढिलाइ भएको निर्माणकर्ताहरूको गुनासो छ । यससँगै अन्य बन्दै गरेका आयोजनासमेत समस्यामा छन् ।