नेपाली नयाँ वर्षमा सवारीसाधनदेखि होटलसम्ममा छुटको अफर
2023-04-13 17:17:22cri
Share with:

नयाँ वर्ष २०८० साललाई लक्षित गर्दै गाडी, मोटरसाइकलदेखि इलेक्ट्रिक कम्पनीहरूले सामान खरिदमा विभिन्न छुट अफर ल्याएका छन् । परिवारसहित पर्यटकीय गन्तव्यमा पुग्न चाहनेलाई होटल तथा रिसोर्टहरूले खानपिन र बाससहितका छुट प्याकेज अघि सारेका छन् ।

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ । यो योजना चैत १३ देखि सुरु भएको हो । जसअन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद छुटका साथै गाडी बनेको वर्षका आधारमा २ लाख रुपैयाँसम्म छुट पाउनेछन् । त्यस्तै, नयाँ वर्ष बोनस र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ पाइने कम्पनीको भनाइ छ । त्यस्तै, यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले ल्याएको ‘पावर अफ फाइभ’ नामक योजनाअन्तर्गत यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै ग्राहकले अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउनेछन् । त्यस्तै, खरिद गरेपछि फेरि ‘वाइल्ड कार्ड’ मार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने र पछि पनि ३ जना भाग्यशाली विजेताले ‘रेफरल कोड’ सेयर गरी साप्ताहिक रूपमा आईफोन १४ वा एप्पल वाच, एप्पल एयरपड जित्ने अवसर पाउने कान्तिपुर अनलाइनले जनायो।

 

बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गर्ने २५ जना ग्राहकले २५ प्रतिशतसम्म डाउन पेमेन्ट, १० हजार रुपैयाँसम्मको स्योर–सट नगद छुट तथा एक किलो चाँदी जित्ने मौका पाउने नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले जनाएको छ । टीभीएसले हरेक बाइकको खरिदमा ८ हजार, स्कुटरको खरिदमा ७ हजार रुपैयाँ ‘स्योर सट क्यास डिस्काउन्ट’ दिने जनाएको छ । अपाचे बाइकको खरिदमा थप ५ हजार मूल्य बराबरको हेलमेट निःशुल्क दिइनेछ । शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा मोटरसाइकल एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार रुपैयाँ बढी भ्यालुएसन दिइने कम्पनीले जनाएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा नयाँ वर्षले अटोमोबाइल्स क्षेत्रलाई चलायमान बनाउने गरेको बताउनुभयो। ‘अटो बजार सुधार भइसकेको छैन,’ उहाँ भन्नुहुन्छ, ‘तर, नयाँ वर्षपछि राम्रो हुने अपेक्षा छ ।’ बैंकहरूले अझै अटो क्षेत्रमा लगानी गरिनसकेकाले अपेक्षा गरेअनुसार बजार चलायमान बन्न नसकेको उहाँको भनाइ छ ।

 

सवारीसाधनमा मात्र होइन, इलेक्ट्रिक सामानमा पनि कम्पनीहरूले अफर ल्याएका छन् । एलजीले नयाँ वर्षलाई लक्षित गर्दै ‘शुभकामना नयाँ वर्षको, सम्बन्ध जीवनभरको’ नामक अफर ल्याएको छ । यस अफरमा एलजीका कुनै पनि सामान खरिदमा क्यास ब्याकसहितको उपहार प्रदान गरिने कम्पनीले जनायो । एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सका अनुसार एलजी होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म क्यास ब्याक र पक्का उपहारहरू प्रदान गरिनेछ । एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले नयाँ वर्षलाई लक्षित गर्दै ‘नगद वृष्टि’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट तथा अन्य अप्लायन्स खरिद गर्दा नगद छुट र उपहार पाउने कम्पनीले जनाएको छ ।

युरोपको इलेक्ट्रोनिक्स ब्रान्ड बेकोले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ वर्षको उमंग, मनाऔं बेकोसँग’ नामक योजना सार्वजनिक गरेको छ । आधिकारिक वितरक सीजी ईओएलका अनुसार वासिङ मेसिन र वासर ड्रायरको खरिदमा ६ केजीको एरिएल म्याटिक वासिङ पाउडर उपहार पाइनेछ । सामसङले नयाँ वर्षको अवसरमा ग्राहकलाई टिकाउ वस्तुहरूमा ४१ प्रतिशतसम्म क्यास ब्याक दिएको जनाएको छ । कम्पनीका अनुसार सामसङ फ्ल्यागसिप क्यूएलईडी टीभी, क्रिस्टल फोर के अल्ट्रा एचडी टीभीमा ग्राहकले २५ प्रतिशतसम्म छुट पाउनेछन् । नयाँ वर्षमा दराजबाट सामान किन्दा ग्लोबल आईएमई बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउनेछन् । नेपालमा स्मार्टवेयर र ग्याजेट एसोसेरिज बिक्री गर्ने अग्रणी कम्पनी टेक स्टुडियो प्रालिले नयाँ वर्ष अभियान सार्वजनिक गरेको छ । ईकमर्स साइट दराज मार्केट प्लेसमा २०७९ चैत २८ देखि २०८० वैशाख ९ गतेसम्म नयाँ वर्षको अफरहरू सञ्चालन हुनेछन् ।