नेपालका लागि चिनियाँ राजदूत छन् सोङद्वारा बुद्धस्थल तिलौराकोटको भ्रमण
2023-04-13 17:16:10cri
Share with:

नेपालका लागि चीनका राजदूत छन् सोङ प्राचीन कपिलवस्तु स्थित तिलौराकोटको अवलोकन भ्रमण गर्नुभएको छ। लुम्बिनी हुँदै प्राचीन कपिलवस्तु आएका उनले बुद्धस्थल तिलौराकोट भ्रमण गर्नुभएको हो। राजदूत सोङलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले बुद्धस्थलको ऐतिहासिक पृष्ठभूमि, महत्व, ऐतिहासिक प्रमाण, लगायतका बिषयमा जानकारी गराउनुभएको नागरिकन्यूज डटकमले जनाएको छ।

तिलौराकोट दरबार क्षेत्रमा पैदल मार्ग हुदै उहाँले तिलौराकोटमा संपन्न उत्खनन र अन्वेशषको स्थलगत निरीक्षण गर्नुभएको थियो। जापानिज फण्ड इन ट्रस्ट, नेसनल जियोग्राफी सोसाइटी अमेरिका र युनेस्को सहयोगमा ८ वर्षदेखि तिलौराकोटमा उत्खनन गरिएको छ। उहाँले उत्खननका उपलब्धि र अवस्थाबारे जनकारी लिनुभयो।

उत्खनन र अन्वेषणको उपलब्धि, प्राप्त प्रमाण, ऐतिहासिक पृष्ठभूमि लगायतका विषयमा जानकारी गराइएको थियो। राजदूत सोङले तिलौराकोटको मुख्य दरबार, पश्चिमी र पूर्वीद्वार, सपन्न भएको उत्खनन क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको थियो। भ्रमण सकेर फर्कनेक्रममा राजदूत सोङले तिलौराकोटका प्रवर्द्धन र विकासका लागि आफूले पहल गर्ने बताउनुभयो।

सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले बुद्धस्थलको ठोस विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढनुपर्ने बताउनुभयो। ३ वटा बुद्धहरूको जन्मथलोका पाइला टेक्न पाएकोमा आफू धन्य भएको भन्दै उहाँले प्राचीन कपिलवस्तुमा रहेको बुद्धस्थलको विकासका लागि हातेमालो गर्ने बताउनुभयो। ‘यहाँका बुद्धस्थलको विकासका लागि हामी सहयोग गर्न तयार छौं,’ उहाँले भन्नुभयो।

 

आफ्नो देशमा रहेका करोडौं बुद्धमार्गीहरू प्राचीन कपिलवस्तु आउन लालाहित रहेको बताउँदै उहाँले शान्तिका अग्रदूत तथा करोडौंका आस्थाका केन्द्र रहेको बुद्धस्थलमा आउन पाउनु नै गौरवको कुरा रहेको र चीन सरकारले बुद्धस्थलको विकासका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो। तिलौराकोट बुद्धका पिता राजा शुद्धोधनको राजप्रसाद हो।