समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन राष्ट्रपति पौडेलको आग्रह, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता
2023-04-14 18:54:02cri
Share with:

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ। नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, 'सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्नेमा मेरो प्रतिबद्धता छ ।'

 

राष्ट्रपति पौडेलले संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरे मात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई समाजवादतर्फ उन्मुख हुने विश्वाससमेत व्यक्त गर्नुभयो। 'तर, जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन, त्यसतर्फ हामी सबै सचेत हुनुपर्दछ। पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन, यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ', राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।

 

नेपालका तल्लो तहका उत्पीडित र थिचिएका जनतासम्म अधिकार निक्षेपित गर्ने काम भएको बताउँदै त्यसको सान्दर्भिकताका साथै गहिराइ बुझ्ने, अनुभूति गर्ने र आत्मसात् गर्नेमा कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने उहाँको भनाइ छ। आर्थिकरूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने उहाँको भनाइ छ ।

 

यसैबीच नव वर्षको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, 'संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौँ।'

 

उहाँले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभंग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा भनिएको छ, 'बैंक ब्याजदर कम हुँदै गएको छ, व्यवसायीहरूको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ, राजश्व संकलनमा वृद्धि भइरहेको छ, तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ ।'

 

निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुआत भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएको बताउनुभयो।

उहाँले राष्ट्रले आफूलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा समस्त नेपाली जनसमुदायसँग नयाँ वर्षका हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। 'हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन', शुभकामनामा सन्देशमा उल्लेख छ । उहाँले २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त सबैको शान्ति, प्रगति र सुस्वास्थ्यको कामनासमेत गर्नुभयो।