एउटै ठाउँमा एक सय अठासी देशका झण्डा फरफर
2023-04-15 16:39:12cri
Share with:

बागलुङको काठेखोला गाउपालिका–५ बिहुँको पर्यटकीय क्षेत्र घोडाबाँधे क्षेत्रमा संसारका १८८ देशका राष्ट्रिय झण्डा स्थापना गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग पुर्याउने उद्देश्यले विश्व सांस्कृतिक अभियान समूहको अगुवाईमा झण्डा स्थापना गरिएको हो।

 

घोडाबाधे काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सीमा क्षेत्र हो । झण्डा स्थापना गरिएको क्षेत्रबाट धौलागिरि, माछापुच्छे , मानापाथीलगायतका दर्जनौ हिमश्रृङखला अवलोकन गर्न सकिन्छ । घोडाबाँधे क्षेत्रलाई विश्व सांस्कृतिक गाउँको रुपमा विकास गर्ने लक्ष्यका साथ पर्यटकीय गतिविधि, कार्यक्रम तथा संरचना निर्माण गर्न थालिएको पर्यटन विकास अभियन्ता कृष्णबहादुर केसीले बताउनुभयो । ‘यो क्षेत्रमा विश्वको नक्सा जस्तै घर बनाउने योजनामा छौं’ अभियन्ता केसीले भन्नुभयो–‘घोडाबाँधेमा पुग्ने पर्यटकले विश्व भ्रमण गरेको अनुभव गर्ने गन्तव्य बनाउँछौं ।’ काठेखोला तथा जैमिनीको सिमा क्षेत्रमा पर्यटकीय क्षेत्र जागादहदेखि धम्जास्थित पर्यटकीय क्षेत्र बेलढुङ्गा जोड्ने गरी पर्यटकीय पदमार्ग पहिचान गरिएको छ ।

जागादेखि बेलढुङ्गासम्मको यात्रामा बीच भागमा घोडाबाँधे क्षेत्र पर्छ । सबै देशको झण्डा स्थापनाले स्वदेशी तथा विदेशी पर्यटक उक्त क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ । झण्डा राखिएको स्थान बागलुङ सदरमुकाम बागलुङ बजारदेखि मध्यपहाडी लोकमार्गको २५ किलो मिटर दुरी पार गर्दै पुग्न सकिन्छ । बागलुङका महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई व्यवसायिक पर्यटनको रुपमा विकास गर्न अभियान सञ्चालन भैरहेको अभियन्ता केसीले बताउनुभयो।

पर्यटकीय नगर पोखरामा आउने पर्यटकलाई बागलुङ भित्र्याउने र केही हप्ता जिल्लामै बस्ने वातावरण मिलाउन पोखरासँग समन्वय भइरहेको केसीको भनाइ छ। काठेखोला क्षेत्रमा भएका पर्यटकीय सम्भावनाका क्षेत्रको पहिचान र विकासमा गाउँपालिकाले आवश्यक नीति, कार्यक्रम र बजेट विनियोजन गर्ने काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो। गोरखापत्र अनलाइन।