भृकुटीको समय यात्रासँगै बेइजिङमा नेपाली नयाँ वर्ष मनाइयो
2023-04-15 16:38:31cri
Share with:

सातौं शताब्दीमा तिब्बती राजासँग विवाह गरेकी नेपाली राजकुमारी भृकुटीको आधुनिक बेइजिङ यात्राको भिडियो हेर्दै चीनमा रहेका नेपालीहरूले नयाँ वर्षलाई स्वागत गरेका छन्। नयाँ वर्ष २०८० को उपलक्ष्यमा नेपाली राजदूतावासले बेइजिङस्थित दूतावास परिसरमा आयोजना गरेको शुभकामना आदानप्रदान समारोहमा नेपाल-चीन मित्रताको पृष्ठभूमिमा तयार पारिएको भिडियो प्रस्तुत गरिएको कान्तिपुर अनलाइनले जनाएको छ। विभिन्न समयमा सिलसिलेवार छायांकन गरिएको भिडियो चार भागसम्म तयार पारिएको छ र भविष्यमा यसलाई बढाउँदै लैजाने भिडियो निर्माताले जानकारी दिएका छन् ।

 

चाइना मिडिया ग्रुपको परिकल्पनामा तयार पारिएको भिडियोमा भृकुटीले आफ्नी 'सौता' अर्थात् मुख्यभूमि थाङ् राजवंशकी राजकुमारी वन् छङ्को भूमिमा प्रकट भएर यहाँको पछिल्लो विकास चमत्कारको अनुभव गरेको कुरा देखाइएको छ भने भृकुटीको भूमिका नेपाली भाषी चिनियाँ संचारकर्मी चू मेइ (नेपाली नाम : ललिता)ले निभाउनुभएको छ।

 

भिडियोबारे जानकारी दिँदै अभिनेत्री ललिताले इतिहासदेखि नै नेपाल-चीन मित्रताका धेरै विषयवस्तुहरू विद्यमान रहेको र भृकुटीको विषय छनोट गरी एक्काइसौं शताब्दीमा ल्याएर अभिनय गराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यो नयाँ तरिकामार्फत् चीनको विकास अनुभव गराउनुका साथै नेपाल-चीनबीच युगौंयुग मैत्रीपूर्ण रणनीतिक साझेदारी सम्बन्ध देखाउने प्रयास गरेका छौं । भिडियोमा म स्वयं भृकुटी बनेकी छु भने पथ प्रदर्शकको भूमिका चीनमा कार्यरत नेपाली पत्रकार लक्ष्मी लम्सालले निभाउनुभएको छ । ऐतिहासिक जानकारी संकलन गरेर केही बुझाइ र परिकल्पना पनि थपेका छौं।’

राजकुमारी भृकुटीका अलावा भिक्षु सुआन चाङ, अरनिको लगायत धेरै ऐतिहासिक पात्रहरूले दुई देशबीचको सम्बन्धमा पुलको काम गरेको भन्दै उहाँले आगामी दिनमा सम्बन्धित कथाहरू रच्ने योजनामा रहेको पनि सुनाउनुभयो।

भिडियो सीएमजी, नेपाली सेवाको फेसबुक पेज, नेपाली टेलिभिजन र निहाउ नमस्ते युट्युब च्यानलबाट प्रस्तुत गरिएको छ।

 

नयाँ वर्ष मनाउनका लागि राजधानी बेइजिङदेखि बाहिरी प्रान्तमा बस्ने नेपालीहरू भेला भएका थिए। कोभिड-१९ को झण्डै तीन वर्ष लामो उकुसमुकुसपछि नेपाली समुदायले यसपटक खुलेर नयाँ वर्ष मनाउन पाएका हुन्।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उच्च प्राज्ञिक अध्ययन तथा नेपाल सम्बन्धी अनुसन्धानात्मक पुस्तक प्रकाशन गरेका पुराना लेखक वाङ होङवेइलाई सम्मानित गर्नुभयो। सहभागीहरूलाई सम्बोधन गर्दै उहाँले नयाँ वर्ष भनेको विगतको समीक्षा र आगामी योजना बनाउने दिन भएको बताउनुभयो । आफू चीन आएको ८ महिना मात्रै भएको भन्दै राजदूत श्रेष्ठले चीन बुझेका कुनै पनि नेपाली देशका लागि एउटा दूत भएकाले राम्रो सुझाव र योजनाहरू देशभित्र पुर्‍याउनुपर्ने बताउनुभयो। नयाँ वर्ष मनाउन नेपालका शुभेच्छुक चिनियाँहरू पनि सहभागी थिए।