नयाँ वर्षको पहिलो दिनलाई ध्यान दिवसका रुपमा मनाउनका लागि महोत्सव
2023-04-15 16:39:39cri
Share with:

नयाँ वर्षको पहिलो दिन काठमाडौंको टुँडिखेलमा लाइभ म्युजिकसहित ध्यान र उत्सव ‘ओशो महोत्सव’ सुरू भएको छ। शुक्रबार बिहान ९ देखि राति ९ बजेसम्म आयोजित सो महोत्सवमा निःशुल्क प्रवेश गरिएको छ। सो महोत्सवका प्रमुख संयोजक भवन भट्टका अनुसार नेपाललाई समृद्ध र अध्यात्मिक बनाउने स्वामी आनन्द अरुणको चाहनाबमोजिम ओशो तपोवनको आयोजनामा गत वैशाख १ देखि हरेक नयाँ वर्षको पहिलो दिन ओशो महोत्सव सुरु गरिएको हो। ओशो तपोवनको सहकार्य र ओम नेपाल मिडियाले गत वर्षको वैशाख १ गतेजस्तै यसपटक पनि उत्सवको दोस्रो संस्करण गर्न लागेका हुन्।

प्रमुख संयोजक भट्टले नेपाली पात्रोअनुसार हरेक वर्षको वैशाख १ गतेलाई विश्व ध्यान दिवसका रूपमा प्रस्ताव गरिएको र यससम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायसम्म पनि पहल गरिएकाले सो दिनलाई विश्व ध्यान दिवस घोषणा गराउन यो अभियान निरन्तर लाग्ने बताउनुभयो।

यो दिवसको घोषणा गर्न सकियो भने यसले नेपाली मौलिकपन झल्काउने र महादेव अर्थात् देवताहरूले तपस्या गरेको नेपालजस्तो तपोभूमि र शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्भिएको देश नेपाललाई विश्वमै ध्यान, तपस्या गर्ने अर्थात् ध्यानीहरूको देश भनेर चिनाउन सकिने उहाँको भनाइ छ । गैरआवासी नेपाली संघका पूर्वअध्यक्ष समेत रहेका भट्ट केही वर्षदेखि ओशो अभियानमा रहेको कारोबार अनलाइनले जनाएको छ।

 

१२ घण्टाको महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिलाई सुहाउने कार्यक्रम प्रस्तुत गरिको छ। यसपटकको महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत कार्यक्रम हुनेछन् ।

शारीरिक तथा मानसिक तनाव, हतासा र विषादको कारणले दिनानुदिन बिग्रिदै गएको स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनामार्फत समृद्ध मनुष्य निर्माण गर्नु महोत्सवको उद्देश्य रहेको जनाइएको छ ।