नेपाल–बंगलादेश ऊर्जा बैठकको मुख्य एजेन्डा प्रसारण लाइन
2023-04-16 16:48:42cri
Share with:

नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठक वैशाख २७ र २८ गते बंगलादेशमा हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पाँचौं सचिवस्तरीय बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल सुरु गरेको छ । बैठकमा विशेषतः यसअघि भएको बैठकको समीक्षा तथा बंगलादेशले नेपालको जलविद्युत्मा लगानी गर्ने इच्छा राखेको र त्यसबारे समेत छलफल हुने मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधुप्रसाद भेटुवालले जनाउनुभयो । वैशाख २७ मा दुवै देशका सहसचिवस्तरको बैठकमा छलफल हुने एजेन्डालाई २८ गतेको सचिवस्तरीय बैठकले टुंग्याउने उहाँको भनाइ छ । अहिले मन्त्रालयमा नेपालतर्फको संयुक्त प्राविधिक समिति (जेटीटी) को छलफल भइरहेको छ ।

 

बैठकमा मुख्यतः ६८३ मेगावाटको सुनकोशी–३ जलविद्युत् आयोजना निर्माणका विषयमा छलफल हुने मन्त्रालयले बताएको छ । ०७९ भदौ ८ र ९ गते काठमाडौंमा सम्पन्न बैठकमा सुनकोशी–३ आयोजनालाई प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डले संयुक्त रूपमा निर्माण गर्ने निर्णय भएको थियो । बैठकले वातावरण मूल्यांकन प्रतिवेदन तथा विस्तृत आयोजना प्रतिवेदन नेपाली पक्षले निर्माण गर्ने निर्णय भएको थियो । अध्ययन सकिए पनि कुन मोडालिटीमा आयोजना निर्माण गर्ने यकिन भएको छैन । बैठकले आयोजना निर्माणको मोडालिटी र दुवै देशले गर्नुपर्ने साझेदारीका विषयमा छलफल गर्ने भेटुवालको भनाइ छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तयार गरेको काभ्रे, सिन्धुपाल्चोक र रामेछापलाई छुने सुनकोशी–३ आयोजना कोशी बेसिन गुरुयोजनाबाट पहिचान भएको थियो । यस आयोजनाको सम्भाव्यता तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको प्राधिकरणले जनाएको छ । कान्तिपुर अनलाइनका अनुसार वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत स्वीकृत भइसकेको बताइएको छ । प्रतिवेदन नेपालले बंगलादेश पठाइसकेको छ । पाँचौं बैठकमा नेपाली पक्षले यसको हालसम्मको प्रगति र अबको मोडालिटीका विषयमा छलफल गरी निर्णयमा पुगिने भेटुवालको भनाइ छ।

काठमाडौंमै सम्पन्न बैठकमा नेपाल–बंगलादेश डेडिकेटेड विद्युत् प्रसारण लाइन निर्माण गर्ने सहमति पनि भएको थियो । त्यति बेला भारतीय भूमि प्रयोग हुने भएकाले भारतसँग थप छलफल गरिने बैठकले निर्णय गरेको थियो । उक्त प्रसारण लाइन बनाउन बंगलादेश, भारत र नेपालबीच त्रिपक्षीय समझदारीका लागि दुवै पक्षले भारतसँग पहल गर्ने सहमतिसमेत भएको थियो । पाँचौं बैठकमा यसको समीक्षा हुने भेटुवालको भनाइ छ । यसमा प्रसारण लाइन कसरी र कसले निर्माण गर्ने भारतको सहयोगलगायत विषयमा छलफल हुने जनाइएको छ ।

 

सचिवस्तरीय चौथो बैठकमा भारतकै संरचना प्रयोग गरी बंगलादेशले ५० मेगावाट बिजुली किन्ने निर्णयसमेत गरेको थियो । यसका लागि भारतलाई दुवै पक्षबाट मनाउने सहमति भएको थियो । बैठकमा बंगलादेशले ०७९ कात्तिकभित्र नेपालको ४० देखि ५० मेगावाट विद्युत् किन्ने सहमति भएको थियो । यसमा विद्युत् निर्यातका लागि आवश्यक ट्रान्सफर्मर लाइनका लागि भारतसँग समेत छलफल गरेर टुंगोमा पुर्‍याइने बैठकले निर्णय गरे पनि भारतले यसमा सहमति दिएको छैन ।

 

पाँचौं बैठकमा यसबारे पनि छलफल हुने जनाइएको छ । यससँगै आपसी अनुभव साटासाट तालिम आदानप्रदान जस्ता विषयमा पनि छलफल हुने बताइएको छ । यद्यपि हालसम्म सबै एजेन्डा तय भइसकेको छैन।

यसैबीच नेपालले बंगलादेशसम्म बिजुली निर्यातका लागि प्रस्ताव गरेको ५० मेगावाट विद्युत् प्रसारण सहमति दिने ऊर्जा सचिव दिनेश घिमिरेले बताउनुभयो। फागुनमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भारतले निश्चित आयोजनाको प्रस्ताव मागेको र यसमा नेपाली पक्षले पनि प्रस्ताव पठाइसकेकाले भारतले सहमति दिने उहाँको भनाइ छ ।फागुनको बैठकमा भारतले बंगलादेश निर्यातका लागि आयोजनको नाम मागेपछि नेपालले लिखु–४ जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशमा निर्यात गर्ने प्रस्ताव पेस गरेको थियो ।