काठमाडौंमा नयाँ युगमा चीन सहित तीन लेखकका कृति एकैसाथ विमोचन
2023-04-16 16:47:39cri
Share with:

नयाँ वर्षको पहिलो दिन अर्थात् २०८० वैशाख १ गते मकालु प्रकाशन गृहले तीनवटा पुस्तक बजारमा ल्याएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगाप्रसाद उप्रेती, मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकाल र बेइजिङमा रहेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यका तीन कृतिलाई मकालु प्रकाशनले बजारमा ल्याएको हो। वैशाख १ गते शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँस्थित चिनियाँ दूतावासका उपप्रमुख काउन्सिलर वाङ सिनले तीन पुस्तकको विमोचन गरेका हुन्। शुक्रवार विमोचित कृतिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगाप्रसाद उप्रेतीको चक्रव्यूह नेपाली कविता संग्रहको अंग्रेजी अनुवाद ‘एन इम्पेनट्रेबल फोर्टिफिकेसन’मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकालको ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ र चेतनाथ आचार्यको ‘नयाँ युगमा चीन’रहेका छन्।

 

चेतनाथ आचार्यको कृति ‘नयाँ युगमा चीन’पुस्तकको समीक्षा गर्दै पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्व राजदूत लीलामणि पौड्यालले भन्नुभयो, ‘चीनको राजधानी बेइजिङमा बसेर विभिन्न गाउँ र शहरको विचरण गर्दै पत्रकारका आँखाले त्यहाँको इतिहास पढेर वर्तमानको परिदृश्य भोगेर, देखेर, अनुभव गरेर तयार गरिएको हुनाले यो पुस्तक गहन र सार्थक रहेको छ।’चीनलाई हेर्ने आँखा नेपाली नै हुनुपर्छ अर्काले बनाइदिएको आँखाले चीनलाई हेरेर मात्र बुझिँदैन भन्दै उहाँले भोकमरी र गरिबीमा परेका झण्डै १० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेर सबैभन्दा ठूलो मानव अधिकारको उदाहरण चीनले पेश गरेको तथ्यलाई पुस्तकमा आचार्यले समेटेको उल्लेख गर्नुभयो। पुस्तकमा वर्णशंकर धानको उत्पादनले चीनको बहुआयामिक गरिबी हटाउन, भोकमरी मेटाउन ठुलो मद्दत पुगेको चर्चा गर्दै यस्ता अनेकौँ अभूतपूर्व उपलब्धिबाट नेपालले थुप्रै कुरा सिक्नुपर्ने धारणा पौड्यालले राख्नुभयो।

प्रस्तुत पुस्तकमा सी चिनफिङको जीवनी, सीपीसीको शताब्दी यात्रा, विश्व चर्चित परियोजना बीआरआई, चिनियाँ कृषिको आँखी झ्याल, कृषिमा राष्ट्राध्यक्ष सीको रुचीजस्ता शीर्षकले चीनको समग्र पाटोलाई प्रष्ट पारेको बताउँदै उहाँले सन् २०१२ बाट नयाँ युगमा प्रवेश गरेको चीनले सन् २०३५ सम्ममा मध्यम स्तरको विकास गर्ने र सन् २०४९ सम्ममा आधुनिक विकसित मुलुक बन्ने लक्ष्य निर्धारण गरेको कुरा समेटेर महत्त्वपूर्ण जानकारी दिएको बताउनुभयो।

 

सम्बोधनकै क्रममा पूर्व राजदूत पौड्यालले वासुदेव ढकालको कृति ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ कृतिको चर्चा गर्दै भन्नुभयो, ‘लघु आकारमा लेखिएको यस पुस्तकमा मध्य, दक्षिण र दक्षिणपूर्वी एसियाका गरी ३० वटा मुलुकको १५ वर्ष लामो (सन् ३९९–४१४) बुद्ध धर्मको खोजी यात्रा गर्ने ६२ वर्षे बौद्ध भिक्षु ‘फाहियानको यात्रा विवरण’ नेपालका लागि ऐतिहासिक कारणले निकै महत्त्वपूर्ण देखिन्छ।’

 

उल्लिखित कृतिको विमोचनपछि सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यी किताबहरू महत्त्वपूर्ण भएको बताउनुभयो। नेपालले चीनबाट धेरै कुराको अनुभव लिन सक्ने र लिनुपर्ने बताउँदै श्रेष्ठले नयाँ युगमा चीनबारे भन्नुभयो ‘आचार्यको यो किताबले चीनका समग्र पक्षलाई समेटेको छ र नेपालीहरूले चीन बुझ्नका लागि यो किताब सबैभन्दा उपयुक्त स्रोत हो।’

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ दूतावासका काउन्सिलर वाङ सिनले नयाँ वर्षको पहिलो दिनमै चीन र नेपालबीचको सम्बन्धलाई महत्त्वपूर्ण टेवा दिने काम गरेको उल्लेख गरे। कार्यक्रममा चिनियाँ मिडिया ग्रुप नेपाली विभागकी प्रमुख चाङ युए (वर्षा), चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई, चिनियाँ मिडिया ग्रुप सीएमजी नेपाली सेवामा कार्यरत पत्रकार एवं ‘नयाँ युगमा चीन’ का लेखक चेतनाथ आचार्यले संक्षिप्त शुभकामना मन्तव्य राखेको नेपालप्रेस अनलाइनले जनाएको छ।