चैतमा उठ्यो पचपन्न अर्ब आन्तरिक राजस्व
2023-04-17 17:06:40CRI
Share with:

राजस्व सङ्कलन खुम्चिँदा स्रोत व्यवस्थापनमा दबाबमा परेको नेपाल सरकारले चैतमा करिब ५५ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ। आन्तरिक राजस्व सङ्कलन गर्ने जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागका अनुसार चैतमा मात्रै ५५ अर्ब दुई करोड ८० लाख रुपियाँ राजस्व सङ्कलन भएको हो। सङ्कलित कुल राजस्व अघिल्लो चैतको तुलनामा करिब साढे दुई रुपियाँले कम हो। २०७८ चैतमा ५७ अर्ब ५३ करोड रुपियाँ आन्तरिक राजस्व सङ्कलन भएको थियो।

चैतमा सबैभन्दा धेरै ३३ अर्ब आठ करोड रुपियाँ बराबरको आय कर उठेको छ। त्यसपछि १० अर्ब रुपियाँ बराबरको मूल्य अभिवृद्धि कर सङ्कलन भएको विभागले जनाएको छ। त्यसपछि नौ अर्ब ४७ करोड रुपियाँ अन्तःशुल्क, एक अर्ब ३५ करोड रुपियाँ ब्याज, ५४ करोड ६४ लाख स्वास्थ्य सेवा, २७ करोड ५९ लाख घर बहाल कर र २० करोड ४० लाख रुपियाँ शिक्षासेवा कर सङ्कलन भएको छ।

चालु आर्थिक वर्षको नौ महिना अर्थात् चैतसम्म भने विभागले तीन खर्ब ३७ अर्ब १० करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको चैतसम्मको तुलनामा ९८ प्रतिशत हो। अघिल्लो चैतसम्म विभागले तीन खर्ब ४२ अर्ब ६५ करोड रुपियाँ सङ्कलन गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

चैतसम्म विभागले एक खर्ब ५० अर्ब २० करोड रुपियाँ आय कर सङ्कलन गरेको छ। त्यसपछि ७८ अर्ब ८९ करोड रुपियाँ मूल्य अभिवृद्धि कर र ७४ अर्ब २८ करोड रुपियाँ अन्तःशुल्क सङ्कलन भएको छ। त्यस्तै २५ अर्ब २१ करोड रुपियाँ ब्याज, पाँच अर्ब २५ करोड स्वास्थ्य सेवा, एक अर्ब ९७ करोड घर बहाल कर र एक अर्ब २६ करोड रुपियाँ शिक्षासेवा कर सङ्कलन भएको विभागले जनाएको छ।