सीआरआईकर्मी आचार्यको उपन्यास ‘रुइबा’लाई अरनिको पुरस्कार
2023-04-17 17:05:45CRI
Share with:

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष चीनको बेइजिङमा बसेर पत्रकारिता गरिरहेका सीआरआईकर्मी चेतनाथ आचार्यको उपन्यास रुइबालाई प्रदान गरिएको छ।

आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उपन्यासकार आचार्यलाई पुरस्कार प्रदान गर्नुभएको हो। यो पुरस्कारमा २ लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

धादिङको रुबी उपत्यकामा जन्मेहुर्केकी एक तामाङ युवती लागूपदार्थ ओसार्ने भरियाको रुपमा प्रयोग भएकी र यी युवती अहिले चीनको कारागारमा थुनिएको कथानकमा स्वैरकल्पना मिसाएर पत्रकार आचार्यले लेखेको रुइबाले यसपटक अरनिको अन्तर्राष्ट्रय पुरस्कार पाएको हो।

समारोहमा राष्ट्रपति पौडेलले नेपालका विभूति अरनिकोको नाममा स्थापित यो पुरस्कारले नेपाली कलासंस्कृति र सभ्यताको गौरव बढाएको बताउनुभयो।

लेखक आचार्यले आफूले ७ वर्ष लगाएर लेखेको उपन्यास रुइबाले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पाएकोमा कृतिको सही मूल्यांकन भएको बताउनुभयो।

समारोहमा भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिका संयोजक हिक्मत थापाले एनआरएनले देशमा लगानी र आर्थिक अवसरमात्रै भित्र्याउने नभएर बाहिरी विश्वमा फैलिएको नेपाली भाषासाहित्यमा उत्प्रेरकको कामसमेत गर्ने धारणा राख्नुभएको थियो।

एनआरएनका अध्यक्ष कुल आचार्य तथा बद्री केसीले नेपालकै पहिलो गैर आवासीय नेपाली अरनिकोको नाममा राखिएको यो पुरस्कारले नेपालनेपालीको पहिचानलाई थप बढाएको बताउनुभयो।