चिनियाँ लेखकलाई ‘नेपाल प्रज्ञालङ्कार’ हस्तान्तरण
2023-04-17 17:04:15CRI
Share with:

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदान गरेको नेपाल प्रज्ञालङ्कार पुरस्कार चिनियाँ लेखक वाङ होङ्वेइलाई बेइजिङमा हस्तान्तरण गरिएको छ। बेइजिङमा आयोजित एक समारोहमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले ९० वर्षीय चिनियाँ लेखक वाङलाई उक्त सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो।

यसअघि नेपाल प्रज्ञाप्रतिष्ठानले २०७८ असारमा काठमाडौँस्थित राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको पुरस्कार समर्पण समारोहमा भौतिक रुपमा उपस्थित नहुनु भएकोले वाङको सम्मानपत्र बेइजिङ पठाइएको थियो।

चिनियाँ लेखक वाङले तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार पदवी पाउनुभएको थियो। नगद पुरस्कार लेखक वाङको बैंक खातामा दाखिला गरिएको थियो भने सम्मानपत्र बेइजिङ ल्याएर हस्तान्तरण गरिएको कान्तिपुर अनलाइनले लेखेको छ।

सन् १९३४ मा जन्मनु भएका बेइजिङ निवासी लेखक वाङले पटकपटक नेपाल भ्रमण गर्नुका साथै दर्जन हाराहारी नेपाल सम्बन्धी पुस्तकहरू प्रकाशित गर्नुभएको छ। सन् १९६३ मा नेपालमा गरिएको साहित्य र कलासम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा भाग लिनुका साथै चिनियाँ साहित्य र कला क्षेत्रमा नेपालको अध्ययन गर्ने एक प्रारम्भिक आगन्तुकमध्ये वाङ एक हुनुहुन्थ्यो।

नेपाली वाङ्मय क्षेत्रमा योगदान गरेवापत् जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ पुरस्कृत भएका हुन्। सम्मान ग्रहण गर्दै लेखक वाङले सम्मानप्रति कृतज्ञता ज्ञापन गर्नुभयो।

सन् १९८५ देखि लगातार नेपाल भ्रमण गरेर लेखक वाङले नेपालका बारेमा धेरै मोनोग्राफ र लेखहरू लेखी चिनियाँमाझ जनस्तरीय मित्रता र आपसी बुझाइमा योगदान गर्नुभएको छ।