वैशाख १८ गतेदेखि तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउने
2023-04-18 16:19:37CRI
Share with:

तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि नेपालचीनका प्रतिनिधिहरुबीच अन्तर सिमाना सुरक्षा बैठक सोमबार सम्पन्न भएको छ। तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका विषयमा बैठक केन्द्रित रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभएको छ।

वैशाख १८ गतेदेखि तातोपानी नाका पूर्ण रूपमा सञ्चालन हुने सन्दर्भमा बैठक भएको उहाँले बताउनुभयो। नाका सञ्चालनका लागि कोभिड प्रोटोकल पालना, सामान चेकजाँच क्वारेनटाइन सञ्चालन, सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सुरक्षासँग सम्बन्धित सूचना आदानप्रदान, नाका सञ्चालनका लागि आआफ्नो पक्षबाट भइरहेको तयारीबारे जानकारी, दुई देशबिचको समन्वय अझै प्रभावकारी बनाउने लगायतका विषयमा बैठकमा बृहत् छलफल भएको प्रजिअ न्यौपानेले बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

बैठकमा प्रजिअ न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणा, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सुदीप अधिकारी, अध्यागमन, भन्सार कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, प्रतिनिधि र चीनका तर्फबाट चिफ अफिसर अफ न्यालम पिपुल गभरमेन्ट मिसेस च म ची, डाइरेक्टर अफ न्यालम एडमिनिस्टरटीभ कमिटी मिस्टर सी पेइ लगायतका सरकारी निकायका प्रमुख र प्रतिनिधि सहभागी हुनुभएको थियो।