अब नेपालमै पाइलट तालिम
2023-04-18 16:22:39CRI
Share with:

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालनका लागि दुई संस्थालाई इजाजत दिएको छ। मन्त्रालयले कार्यविधि संशोधन गरेर शुभम् एभिएसन प्रालि र चन्द्रसूर्य एभिएसन प्रालिलाई इजाजतपत्र दिएको हो।

अब विज्ञान विषय लिई १२ कक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका नेपाली नागरिकले फ्लाइङ स्कुलमा हेलिकोप्टर र जहाजको पाइलट तालिम लिन पाउने भएका छन्।

मुलुकभित्रै फ्लाइङ स्कुल नहुँदा नेपालीहरू तालिमका लागि दक्षिण अफ्रिका, फिलिपिन्स र संयुक्त राज्य अमेरिका जाने गरेका छन्। तालिममा करिब १ करोड रुपैयाँ र एकदेखि डेढ वर्ष समय खर्च हुने गरेको छ।

मन्त्रालयले दुवै संस्थालाई ७ दिनभित्र १ लाख रुपैयाँ इजाजत दस्तुर र वर्गको मान्यता प्राप्त बैंकबाट १० लाख रुपैयाँ बराबरको ग्यारेन्टी बुझाउन भनेको कान्तिपुर अनलाइनले लेखेको छ।

१६ वर्षअघि पर्यटन मन्त्रालयले भरतपुर विमानस्थलमा बेस बनाउने गरी सिवानी एयर प्रालिलाई हवाई उडान प्रशिक्षणका लागि इजाजत दिएको थियो। व्यवस्थापकीय समस्याका कारण उक्त कम्पनी बन्द भइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रक्रिया पूरा गरेर आवेदन बुझाउने अरू संस्थालाई पनि फ्लाइङ स्कुल सञ्चालनका लागि अनुमति दिइने बताउनुभएको छ।