चीनका तीन सहरमा नेपालको पर्यटन प्रचार
2023-04-20 16:34:57CRI
Share with:

चीनमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन गर्ने उद्देश्यले एसोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा) ले बेइजिङमा नेपाल सेल्स मिसनको आयोजना गरेको छ। यसअघि सछ्वान प्रान्तको छङ्तु र युनान प्रान्तको खुनमिङमा कार्यक्रम गर्दै नेपाली सेल्स मिसन टोली तेस्रो गन्तव्यका रुपमा बेइजिङ आएको थियो।

बुधबार चीनस्थित नेपाली दूतावाससँग मिलेर टोलीले प्रवर्द्धनात्मक कार्यक्रम गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत विष्णु पुकार श्रेष्ठले दुई देशबीचको पर्यटन व्यवसायलाई सामूहिक रूपमा प्रवर्द्धन गर्ने माध्यमको रुपमा पर्यटनलाई लिन सकिने बताउनुभएको छ। पर्यटनबाट नै दुई देशबीचको उच्चस्तरीय भ्रमणदेखि जनस्तरीय सम्बन्ध विकास हुने बताउँदै उनले पर्यटनका लागि नेपाललाई प्राथमिकतामा राखेकोमा चीनको प्रशंसा पनि गर्नुभयो। राजदूत श्रेष्ठले भन्नुभयो, ‘नेपाललाई प्राथमिकतामा राखेकोमा चीनप्रति कृतज्ञ छौँ। चीनको आउटबाउन्ड सामूहिक पर्यटन तीन वर्षको अन्तरालपछि खुलेको छ। कोभिड १९ सुरु भएयता चीन पूर्ण रूपमा खुला भएको यो समयलाई ध्यानमा राखी दुवै पक्षले मिलेर काम गर्नुपर्छ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का उपाध्यक्ष वरुण मेहताले मिसनको गतिविधिबाट चिनियाँ पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगी व्यवसायीहरू उत्साहित पाएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘धेरैभन्दा धेरै पर्यटकहरू नेपाल पठाउन उहाँहरू आतुर देखिनुभयो।विशेषगरी हवाई भाडा महँगो भएको गुञ्जायस कार्यक्रमका दौरान उठेको कान्तिपुर अनलाइनले लेखेको छ। मेहताका अनुसार कनेक्टिभिटीका माध्यमहरू सस्तो हुने प्रतिक्षामा अधिकांश पर्यटकहरू देखिन्छन्।

नाट्टाले चीनमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन बोर्डसँगको सहकार्यमा कार्यक्रम गरेको हो। नेपालले प्रदान गर्ने अनुपम सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र साहसिक अवसरहरू प्रदर्शन गर्ने र सुन्दर हिमाली देशको खोजीमा चिनियाँ पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ यस्तो कार्यक्रम गरिएको आयोजकको भनाइ छ।

नेपाल पर्यटन बोर्डका प्रतिनिधि रानु शाहले नाट्टासँगको सहकार्यमा कोभिड सुरु भएयता पहिलो पटक यस्तो मिसनको आयोजना गरिएको बताउनुभयो। महामारी पछिको अवस्थामा यस कार्यक्रमले धेरै अवसरहरू ल्याउने बताउँदै उहाँले यसबाट दुई देशबीचको पर्यटन प्रवर्द्धनका सम्भाव्यतालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो। चीनको एयर चाइनाका प्रतिनिधि च्ये वाङले चीनका विभिन्न सहरबाट काठमाडौंका लागि उडानहरू भर्ने आशा व्यक्त गर्दै उडानको संख्यामा वृद्धिसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने धारणा राख्नुभयो।

नाट्टा उपसंयोजक युविका भण्डारीले चिनियाँ पर्यटकलाई उत्कृष्ट सेवा प्रदान गर्न नेपाली पर्यटन क्षेत्र पूर्णरुपमा तयारी अवस्थामा रहेको बताउनुभयो। चिनियाँ पर्यटकले नेपालको सौन्दर्य र यहाँका जनताको न्यानो आतिथ्यताको अनुभव लिन पाउने बताउनुभयो।

बेइजिङको कार्यक्रममा नेपाली टुर अपरेटर, होटल व्यवसायी लगायत तीन दर्जन प्रतिनिधि र चिनियाँ तर्फबाट ट्राभल एण्ड टुर अपरेटर, बेइजिङ नगर संस्कृति र पर्यटन प्रशासन, बेइजिङ पर्यटन उद्योग, चिनियाँ सञ्चारमाध्यम लगायत एक सयभन्दा बढीको उपस्थिति रहेको थियो। नेपाल प्रवर्द्धनका सिलसिलामा नेपाल भ्रमण गरेका नामी व्यक्तिहरू, टुर अपरेटरहरू लगायतसँग अन्तर्क्रिया गरी पर्यटकीय प्रस्ताव गरिएको थियो।