पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ
2023-04-20 16:41:01CRI
Share with:

नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन्।

साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले स्वागत गरेको राससले जनाएको छ।

सो अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताइरहेको पोखराको पर्यटनमा चिनियाँ टोलीको आगमन र प्याराग्लाइडिङ लगायतका गतिविधिले पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्याराग्लाइडिङसँगै पोखरामा भएका अन्य साहसिक गतिविधिमा पनि पर्यटकलाई जोड्न सके साहसिक पर्यटनमार्फत पर्यटन भित्र्याउन सकिने बताउनुभयो।

पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको जनाउँदै राज्य र निजी क्षेत्रको सहकार्यबाट पर्यटन प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको उहाँको भनाइ थियो। नार्कका अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको सराङकोटबाट मान्द्रेढुङ्गा सारिएको प्याराग्लाइडिङमा पहिलोपल्ट यति धेरै चिनियाँ पर्यटकबाट प्याराग्लाइडिङ हुनु निकै सकारात्मक सन्देश भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामी निकै खुसी छौँ, सुस्ताइरहेको पर्यटन र प्याराग्लाइडिङ क्षेत्रमा यति धेरै विदेशी पाहुनाले प्याराग्लाइडिङ गर्नुभएको छ, यसले नयाँ ठाउँलाई प्रवर्द्धनमा पनि सघाउ पुर्याउने छ।उहाँले चीनको आउटबाउण्डगन्तव्यको सूचीमा नेपाल परेको चिनियाँ पर्यटकको आगमनले पर्यटन प्रवर्द्धनका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्याराग्लाइडिङबाट सुन्दर दृश्यवलोकनका लागि उत्कृष्ट गन्तव्य मानिने मान्द्रेढुङ्गा आएकी यु हुङगुनले पोखराको आकाशमा उड्न पाउँदा निकै आनन्द लागेको बताउनुभयो। पहिलो पटक नेपाल आएको सुनाउँदै उहाँले यहाँको प्राकृतिक सुन्दरता र आतिथ्यता निकै लोभलाग्दो भएको प्रतिक्रिया दिनुभयो।

साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ।

प्राधिकरणले सराङकोटलगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडान सुरु गरिएको हो। यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्ङगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुन्छ।

हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन्। त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन्। पोखराको प्याराग्लाइडिङमा रु एक अर्ब बराबरको लगानी छ।