नेपालको व्यापार घाटा पोहोरभन्दा २ खर्ब २३ अर्ब कम
2023-04-20 16:38:45CRI
Share with:

चालु आर्थिक वर्ष चैत मसान्तसम्म नेपालको व्यापार घाटा पोहोरको तुलनामा २ खर्ब २३ अर्बले कमी आएको छ। नेपालको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आर्थिक वर्षको साउनदेखि चैतसम्म मुलुकको कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब छ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ बराबर पुगेको थियो। व्यापार घाटा पोहोरको तुलनामा १७ प्रतिशतले कमी भएको कान्तिपुर अनलाइनले लेखेको छ। पोहोरको तुलनामा आयात नै १८ प्रतिशतले घटेकाले मुलुकको व्यापार घाटामा राहत पुगेको हो। गत आर्थिक वर्षको साउनदेखि चैतसम्म कुल १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा यो वर्षको सोही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँको मात्रै आयात भएको छ। विदेशी मुद्रा सञ्चिति घट्दा सरकारले केही महिना गाडी, महँगा मोटरसाइकल तथा स्कुटर, स्मार्टफोन, मदिरा लगायत वस्तुको आयातमा प्रतिबन्ध लगाएकाले कुल आयातमा यसको असर देखिएको हो। गत पुसदेखि मात्रै यी वस्तुको आयात खुलाइएको हो।

त्यस्तै निर्यात पनि २६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको साउनचैतसम्म १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको वस्तु भारत लगायत अन्य मुलुकमा निर्यात भएको थियो भने यो वर्षको त्यही अवधिमा १ खर्ब १८ अर्बको मात्रै निर्यात भएको छ।