६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात, भारतपछि चीन
2023-04-21 16:54:17CRI
Share with:

चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधनको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ।

भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय  ५१ वटा विद्युतीय सवारी साधन आयात भएको छ। गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए।

विभागको तथ्याङ्क अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन्। गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधना आयात भएको थियो।

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन्। उक्त अवधिमा भारतबाट एक सय किलोवाट क्षमताका एक हजार सात सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन्।

भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरू चीनबाट नेपाल भित्रिएका छन्। चीनबाट एक सय किलोवाट क्षमताका तीन सय ८१, दक्षिण कोरियाबाट एक सय  किलोवाट क्षमताका दुई सय ४०, र इन्डोनोसियाबाट तीन वटा विद्युतीय सवारी साधना आयात भएका छन्।

यस्तै, दक्षिण कोरियाबाट एक सयदेखि दुई सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन्। भन्सार विभागका अनुसार चीनबाट दुई सयदेखि ३०० किलोवाट क्षमताका पाँच र बेलायतबाट दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन्।

समीक्षा अवधिमा भारतबाट मात्रै रु चार अर्ब ७१ करोड ९८ लाख बराबरको विद्युतीय सवारी आयात भएका छन्। पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरू आयात भएका छन्। यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरू आयात हुने गरेको छ।

चालू आर्थिक वर्षको नौ महिनामा करिब रु सात अर्ब बराबरका विद्युतीय सवारी साधना नेपाल भित्रिएका छन्। भन्सार विभागका अनुसार चैत मसान्तसम्म दुई हजार ४५१ वटा विद्युतीय सवारी आयातमा रु छ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको राससले जनाएको छ।

विद्युतीय सवारी आयातबाट सरकारले रु एक अर्ब ९३ करोड १३ लाख ५९ लाख राजश्व सङ्कलन गरेको छ। गत आवको सोही अवधिमा रु चार अर्ब २९ करोड ६६ लाख ३१ हजार बराबरको विद्युतीय गाडी आयात भएको थियो। उक्त आयातबाट सरकारले रु एक अर्ब १६ करोड ५५ लाख २० हजार राजश्व सङ्कलन गरेको थियो।